शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

दुनियाँभर चीनको लगानी ५० खर्ब डलर, नेपालमा नगन्य सहयोग

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : शनिबार, अशोज २५, २०७६


चीन विश्वकै सबैभन्दा ठूलो आधिकारिक ऋणदाता बनेको छ।उसले सन् २०१८ सम्ममा विश्वका विभिन्न मुलुकमा ५० खर्ब अमेरिकी डलर ऋण लगानी गरिसकेको छ । यो रकम विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ६ प्रतिशत हो।

 समाचारअनुसार सन् २००० मा चीनको यस्तो लगानी पाँच खर्ब डलर थियो, जुन विश्वको जिडिपीको एक प्रतिशत मात्रै हो।

जर्मनीको किएल इन्स्टिच्युट अफ वर्ल्ड इकोनमीले हालै सार्वजनिक गरेको अध्ययनअनुसार चीनको ऋण तथा अनुदानको आकार १८ वर्षमा १० गुना बढेको छ । यो तथ्यांकअनुसार चीन अहिले विश्वको सबैभन्दा ठूलो आधिकारिक ऋणदाता (अफिसियल क्रेडिटर) बनेको छ ।

चीनले गरेको आर्थिक सहायतामध्ये ८० प्रतिशत उदीयमान बजार तथा गरिब मुलुकमा गएको पनि अध्ययनको निष्कर्ष छ । तर, चीनसँग सीमा जोडिएको नेपालमा भने हालसम्म चिनियाँ सरकारी अनुदान तथा ऋणको मात्रा नगन्य मात्रै छ।आजको नयाँ पत्रिका दैनिकमा जनार्दन वरालले लेखेका छन । 

छिमेकी मुलुकको तुलनामा पनि नेपालले चीनबाट पाएको ऋण तथा अनुदानको आकार अत्यन्तै सानो छ । सन् २०१७ मा पाकिस्तानले चीनबाट ३५ अर्ब अमेरिकी डलर (३५ खर्ब रुपैयाँभन्दा बढी) सहायता पाएको छ । यो उसको जिडिपीको साढे ११ प्रतिशत हो।

तर, नेपालले भने २०१७ सम्म ३६ करोड ३४ लाख अमेरिकी डलर ऋण सहयोग प्राप्त गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । यो नेपालको सो वर्षको जिडिपीको तुलनामा एक दशमलव ४६ प्रतिशत मात्रै हो।

७० वर्षअघि जम्मा १८ देशसँग कूटनीतिक सम्बन्ध रहेको चीनले अहिले १८० देशसँग कूटनीतिक सम्बन्ध विकास गरेको छ । एक सय १० देशसँग उसको साझेदारी विस्तार भएको छ ।

भेनेजुएलामा ७७ अर्ब, पाकिस्तानमा ३५ अर्ब, लाओसमा १६ अर्ब, इथियोपियामा १४ अर्ब, श्रीलंकामा आठ अर्ब डलर ऋण लगानी गरेको चीनले नेपालमा ३६ करोड ऋण प्रवाह गरेको छ।

विश्व शान्तिसेनामा पठाउने राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यराष्ट्रको सूचीमा चीन अग्रपंक्तिमा छ । स्वतन्त्र व्यापार सिद्धान्तमा चीनले प्रतिबद्धता जनाएको छ ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology