शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

भारतले महाकालीमा पुल हाल्न दिएन, जोखिममा डुङ्गाबाट वारपार गर्दै सर्वसाधरण

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : सोमवार, अशोज २०, २०७६


बैतडी/ बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भए पनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् ।

महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।

दैनिक उपभोग्य सामग्रीदेखि उपचारका लागि सीमावर्ती भारतीय बजार निर्भर हुनुपरेकाले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिआएको स्थानीय शिक्षक महामलसिंह साउदले बताए । बर्षातको समयमा डुङ्गाबाट आवतजावत गर्न निकै डर लाग्ने गरेको उनले बताए । तल्लोसोराड क्षेत्रमा ६ भन्दा बढी घाटबाट डुङ्गाबाटै ओहोरदोहोर गर्ने गरिएको छ ।

बर्षातका समयमा पुल नहुँदा डुङ्गाकै भरले महाकाली नदी तर्नुपर्ने बाध्यता रहिआएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । विसं २०७४ सालमा पञ्चेश्वर महाकाली नदीमाथि पुल बनाउने भनेर ठेक्का भएको भए पनि भारतले सहमति नदिंदा सो क्षेत्रमा पुल बन्न सकेको छैन ।

अहिले ठेक्का रद्द भइसकेको अध्यक्ष चन्दले बताए । भारतले पञ्चेश्वरको डुबान क्षेत्रमा झोलुङ्गे पुल बन्न लागेको भन्दै सहमति नदिएको बताइएको छ ।

तल्लोसोराड क्षेत्रमा कच्ची सडक भएकाले बर्षातको समयमा हरेक चीजका लागि भारतीय बजारमै निर्भर रहनु परेको छ । महाकाली नदीमा डुङ्गाको भरमा यात्रा गर्न थालेको वर्षौं भए पनि पुल निर्माणका लागि सरकारले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

तल्लोसोराडवासीको पीडा आफूले परराष्ट्र मन्त्रालयमा भनेको भए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology