शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

यी हुन् प्रहरीलाई बदनाम बनाउने ठूला भ्रष्टाचार काण्ड

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६


प्रहरीको कल्याण कोषमा भएको अनियमिततालाई देशकै ठूलो भ्रष्टाचारका रूपमा लिइन्छ- सुडान घोटाला प्रकरण।

यसलाई ‘सुडान घोटाला’ भनेर पनि चिनिन्छ। राष्ट्रसंघको आग्रहमा सुडान खटिन लागेको एफपियू मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भएको सो भ्रष्टाचारमा बहालवालासहित तीन पूर्वआइजिपी जेल जानुपरेको थियो।

गुणस्तरहीन सामान खरिद गरेर भ्रष्टाचार गरिएको थियो। २८ करोड ४० लाख रुपैयाँ अनियमितता भएको ठहर गरी जेठ ०६८ मा दुई ठेकेदार र ३४ प्रहरी गरी ३६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। जसमा विशेष अदालतले तीन आइजिपी र ठेकेदारलाई दोषी ठहर गरेको थियो।

आजकाे नयाँ पत्रिकाले प्रहरीबाट भएका ठूला भ्रष्टाचार काण्डकाे विस्तृत विवरण छापेकाे छ:

पेट्रोलपम्पमा लुट
केही वर्षअघिसम्म प्रहरीको पेट्रोलपम्प सञ्चालनको कुनै हिसाबकिताब थिएन। हाकिमहरूले आदेशको भरमा इन्धन हाल्न लगाउँथे। प्रहरीका आफन्तदेखि नेताहरूसम्मले पम्पमा व्यापक अनियमितता गरेका थिए। प्रहरी अधिकारीहरूको कमाइ काटेर जम्मा भएको कल्याण कोषअन्तर्गत सञ्चालित पेट्रोलपम्प मनोमानी ढंगले चलेको थियो।

०६६ मा तत्कालीन एसएसपी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानबिन समिति बन्यो । त्यसले पेट्रोलपम्पमा करिब पाँच करोड भ्रष्टाचार भएको भन्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई प्रतिवेदन बुझायो । प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन कार्यान्वयनका लागि बुझायो । त्यसको चार वर्षपछि अर्थात् २८ असार ०७० मा अख्तियारले भ्रष्टाचार ठहर गरी विशेष अदालतमा मुद्दा चलायो । दुई करोड ३९ लाख घोटाला भएको भन्दै आयोगले इन्स्पेक्टर जोगलाल डंगोल, सइहरू पुष्पबहादुर वली, आनन्द रोक्का, डोरबहादुर राई र नयनबहादुर बोहराविरुद्ध मुद्दा चलायो ।

२० लाखको जग्गा दुई करोडमा खरिद
तत्कालीन अञ्चल प्रहरी कार्यालय बागमतीका लागि ०६६ मा काभ्रेको भैँसेपाटीमा चार रोपनी तीन आना जग्गा दुई करोडमा खरिद भयो । तर, पछि त्यो जग्गा प्रहरीका लागि अनुपयुक्त ठहर भयो । प्रहरीका ठूला गाडी नै नजाने खोँचको जग्गा मिलेमतोमा खरिद भएको थियो । जसमा तत्कालीन एसएसपी प्रेम चन्दसहितका प्रहरी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दामा एसएसपी चन्दलाई विशेष अदालतले दोषी ठहर गरेकामा सर्वोच्चले सफाइ दिएको थियो । २० लाखमा किनेको तीन महिनापछि जग्गाधनीले मिलेमतोका आधारमा सो जग्गा प्रहरीलाई दुई करोडमा बिक्री गरेको छानबिनमा खुलेको थियो ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology