शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

सभामुखमा प्रचण्डकाे नजर अग्नि र ओनसरीमा

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६


कृष्णबहादुर महराको राजिनामापछि सभामुख पद रिक्त भएसँगै नयाँ सभामुख कसलाई बनाउने, कसरी बनाउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र श्रृंखलाबद्ध छलफल भइरहेका छन्।

पार्टी एकता गर्दाको सहमतिअनुसार सभामुख पद पूर्व माओवादी केन्द्रले पाएको थियो। नेपालको संविधान २०७२ को धारा ९१ (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार त्यतिबेला तत्कालीन एमाले र माओवादीबीच क्रमशः उपसभामुख र सभामुखको बण्डा भएको थियो।

अहिले पार्टी एउटै भएको छ। तर एकीकरण प्रक्रिया पूरा नभइसकेको नेकपामा दुई भाग लगाएरै पद तथा शक्ति बाँडफाँड हुँदै आएको छ। यसर्थ सभामुख पदका लागि पार्टीभित्रको पूर्वमाओवादी खेमा बलियो दाबेदार बनेको छ।

यद्यपि पूर्व एमाले पक्षका केही नेता पनि आकांक्षीका रुपमा देखिएका छन्।

एमाले–माओवादी केन्द्र दुईवटा फरक दलको रुपमा चुनावमा गएकै कारण सभामुख र उपसभामुख दुईवटै पद एकतापछि बनेको नेकपाले पाएको थियो। महराको सभामुख पद गुमेपछि अब सभामुख र उपसभामुख दुईवटै पद लिन संविधानले दिँदैन। यस कारण उपसभामुखको व्यवस्थापन नगरी नेकपाले सभामुख पाउने छैन।

अडानमा पूर्वमाओवादी
नेकपा नेताहरुको तयारी सभामुख आफ्नो पार्टीको बनाउनु पर्छ भन्नेमै केन्द्रित छ।

नेकपा स्थायी समिति सदस्य मणि थापा सभामुख पद आफ्नै पार्टीले राख्ने बताउँछन्। सभामुख पद हात पार्ने अवस्थामा नेकपाले उपसभामुख पद सत्ता साझेदार संघीय समाजवादी नेपाल वा अन्य कुनै पार्टीलाई दिनुपर्ने हुन्छ।

तर यहाँनेर पनि नेकपा समस्यारहित भने छैन। सभामुख पद पूर्व एमाले वा माओवादी कुन समूहले पाउने भन्ने विषय पेचिलो बनेको छ।

पूर्व माओवादी केन्द्र आफूले सभामुख पाउनु पर्ने पक्षमा छ। स्थायी समिति सदस्य मणि थापा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भागमा परेको सभामुख पद नछोड्ने दाबी गर्छन्।

‘पूर्व माओवादी केन्द्रले आफ्नो भागमा परेको सभामुख पद आफैले राख्छ। जे सुकै परिस्थिति बने पनि अडान छाड्दैन’, उनी भन्छन्।

पूर्वमन्त्री एवं सांसद रेखा शर्मा पार्टी एकता गर्दा बनेको सहमति तलमाथि नहुने बताउँछिन्।

‘पार्टी एकता सकिएकौ छैन। यस्तो अवस्थामा पूर्वसहमतिअनुसार पाएको सभामुख पद स्वभाविक रुपमा पूर्व माओवादीकै हुनेछ’, उनी भन्छिन्।

खुमलटारको छनोट
महरा प्रहरणपछि अध्यक्ष प्रचण्डले सभामुखमा विवादरहित नेतालाई अघि बढाउन चाहेको खुमलटार स्रोत बताउँछ।

सो मापदण्डअनुसार सभामुख प्रत्यासी छानिएको खण्डमा जनयुद्धकालदेखि अहिलेसम्म विवादमा नपरेको नेताको खोजी हुन सक्नेछ। यसरी छान्दा अहिले चर्चामा रहेका हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत सभामुखको दौडबाट छुट्नेछन्।

पूर्वमाओवादीबाट सभामुखका लागि अहिले चर्चामा रहेका नाममध्ये नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा र पूर्व सभामुख ओनसरी घर्ती बलियो दाबेदारका रुपमा रहेका छन्। अध्ययनशील र इमान्दार नेतामध्येमा पर्ने सापकोटा राम्रो राजनीतिक सुझबुझ एवं परिस्थिति विश्लेषण गर्न सक्ने क्षमता राख्छन्। अध्यक्ष प्रचण्डसँग निकट मानिने सापकोटाको सम्बन्ध प्रधानमन्त्री ओलीसँग पनि राम्रो रहेको मानिन्छ।

पूर्व सभामुख ओनसरी घर्ती सभामुख पदका लागि अर्को बलियो ताबेदार हुन्। यसअघि सभामुखको भूमिकामा रहँदा उनले सन्तुलित ढंगले संसद सञ्चालन गरेको टिप्पणी उच्च नेतृत्व तहबाटै भएको थियो। पछिल्लो पटक सभामुख बनेका महराभन्दा उनले राम्रोसँग संसद चलाएको भनेर चर्चा हुने गरेको छ।

सरकारको नेतृत्वले भरोसा गर्न सक्ने उनलाई सभामुख बनाउँदा अन्तर्राष्ट्रिय रुपमा समावेशीताको सकारात्मक सन्देश जान सक्ने सोच पार्टीको नेतृत्वले बनाएको देखिन्छ। राजनीतिक अप्ठ्यारा फुकाउन तत्कालै नेताहरुसँग भेटघाट मिलाउने एवं अनुभवका कारण पनि उनी सभामुखका लागि बलियो प्रत्यासी हुन्।

महरालाई सभामुख बनाउने बेलामा आकांक्षी बनेका जनार्दन शर्माले यसपाली सभामुखमा रुचि देखाइरहेका छैनन्। उनी मन्त्री बन्ने तयारीमा देखिन्छन्।

तेस्रो विकल्पमा प्रचण्डले अन्य नेताहरुको खोजी गर्दा नारायणकाजी श्रेष्ठ समूहबाट शिक्षामन्त्री गिरिराजमणि पोखेरलको नाम आउनसक्छ। तर उनले सभामुखका लागि मन्त्री पद छोड्न तयार नहुने संकेत दिइसकेका छन्। रामबहादुर थापा बादल समूहका देब गुरुङ पनि सभामुख बन्ने चर्चा छ। गुरुङको कडा स्वभावका कारण प्रधानमन्त्री ओलीले उनलाई स्वीकार नगर्ने पूर्वमाओवादी नेताहरूको भनाइ छ।

सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै नेकपा नेताहरू अध्यक्ष प्रचण्ड निवास खुमलटार जाने क्रम तीब्र भएको छ। बुधबार बिहान पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भयो। बिहीबार बिहान गृहमन्त्री रामबहादुर थापाले प्रचण्डसँग एक घण्टा छलफल गरेका छन्। यी भेटवार्ताको केन्द्रीय विषय सभामुख पद नै रहेको खुमलटार स्रोतको दाबी छ।

दाउ हेर्दै पूर्वएमाले
माओवादी नेताहरुको खुला भनाइ आए पनि पूर्व एमाले पक्षले पनि सभामुख पदमा आँखा लगाइरहेको छ।

महराको यौन काण्डसँगै पूर्व सभामुख सुवास नेम्वाङ चर्चामा आए। घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहालसँग छलफल गर्नुअघि नेम्वाङसँग नै परामर्श गरेका थिए। त्यसपछि बसेको नेकपा सचिवालय बैठकले महरालाई ‘सांसद र सभामुख पदबाट राजीनामा दिएर घटनाको निष्पक्ष छानिबनका लागि सहयोग गर्न’ सुझाव दिने निर्णय गर्यो।

यो निर्णयको सूत्रधार उनै नेम्वाङ रहेको पूर्व माओवादी खेमाको बुझाइ छ।

पार्टी निर्णय आएलगत्तै महराले सभामुख पदबाट राजीनामा दिए तर सांसद पद छोडेनन्। घटनाको निष्पक्ष छानबिनको अवस्थै बनाइएन।

त्यति नै बेला नेता नेम्वाङले सार्वजनिक अभिव्यक्ति दिए, ‘अब नेकपाले महरालाई सांसदका रुपमा चिन्दैन।’

नेम्वाङको यो अभिव्यक्तिपछि पूर्वमाओवादीहरु उनीसँग असन्तुष्ट भएका छन्। कतिपयले आफू सभामुख पद पाउन उनले चलखेल गरेको दाबी समेत गरेका छन्।

तर नेम्वाङले भने आफू सभामुखको आकांक्षी नरहेको नेपालखबरलाई बताए। सभामुख पदमा नयाँ नेतालाई पठाउनुपर्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नाताले नेम्वाङकी सानीआमा हुन्। कतिपयले नेम्वाङको सक्रियतालाई सानीआमालाई सभामुख बनाउने तयारीको रुपमा अर्थ लगाउने गरेका छन्। तुम्बाहाम्फेले भने अहिलेसम्म मुख खोलेकी छैनन्।

महरा प्रकरणबाट प्रचण्ड दुःखी
यौनकाण्ड लागेर महराको सभामुख पद गुमेपछि अध्यक्ष प्रचण्डले आफ्नो ठूलो शक्ति क्षय भएको महसुस गरेका छन्। जनयुद्ध कालदेखिकै सहयात्री रहेका महरा अध्यक्षका भरपर्दा नेता हुन्। अप्ठ्यारो परिस्थितिमा राजनीतिक निर्णय लिनु परे प्रचण्डले निर्णायक सल्लाह गर्ने केही नेतामध्ये महरा एक हुन्।

ओलीले सुरुमा महरालाई सभामुख बनाउन रुचि देखाएका थिएनन्। पार्टीभित्र पनि सधैँ महरा मात्रै पदमा रहेको भनेर आलोचना भइरहेको थियो। तर लामो समयदेखि आफुले भर गर्दै आएकाले प्रचण्डले पूर्वमाओवादीको भागमा परेको सभामुख पदमा महरालाई पठाएका थिए।

मंगलबार महराको राजीनामा आएपछि खुमलटार फर्किएका प्रचण्डले निकटस्थ नेताहरुलाई ‘आफ्नो शक्ति कमजोर बनाउन ठूलै शक्ति परिचालन भएको’ टिप्पणी सुनाए। महराको राजनीतिक करिअर ओरालो लागेको परिस्थितिमा उनले आन्तरिक समीकरणमा नयाँ परिवर्तन गर्न सक्ने सम्भावना रहेको खुमलटार स्रोत बताउँछ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology