शुक्रबार, कार्तिक १, २०७६ Friday 18th of October 2019

आज दशैंको महाष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिंदै

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६


काठमाडां / आज (आइतबार) बडादशैंको आठौं दिन अर्थात महाअष्टमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।

आज विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आज दशैं घर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैंको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने उनले बताएका छन् ।

पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैं घरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

यस दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी पूजाआजा गरिन्छ । यी साधनलाई पनि देवीको शस्त्र–अस्त्रका रुपमा मानेर पूजा गर्ने गरिएको हो ।


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology