बिहिबार, भदौ ५, २०७६ Thursday 22nd of August 2019

सिंहदरबारभित्रै हराए गैंडाको खाग, बाह्रसिङ्गेको सिङ्ग र बाघको जुँगा

  • पाथिभरा न्युज
  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६


काठमाडौं/ राजामहाराजाले उतिवेला प्रयोग गरेका वन्यजन्तुका कतिपय अङ्ग (अखेटोपहार) सिंहदरबारभित्रैबाट गायब भएका छन् । केही कुहिएर कामै नलाग्ने भएका छन् ।बिहीबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको टोलीले अध्ययन गर्दा गैँडाको खाग, बाह्रसिंगेको सिङ, बाघका जुँगा नभेटिएका हुन् । सिंहदरबार ग्यालरी बैठकको भुइँतलामा वन्यजन्तुको अंगप्रत्यंग फिँजाइएको छ ।

त्यहाँ गैँडा, बाह्रसिंगेको टाउको छ । बाघको छालाले मोहोरेर बाघकै आकार दिइएको बुख्याचा छ । डाँफे चराका अङ्ग प्रयोग गरेर डाँफेकै स्वरूप बनाइएको छ । यस्ता अन्य थुप्रै मृत जनावरका अङ्ग छन् ।

तर, बाघका दाँत र नंग्रा भेटिएनन् । जुँगा उखेलिएका छन् । बाह्रसिंगेको सिङ काटेर लगिएको छ । गैँडाको टाउको भए पनि खाग छैन । कतिपय जनावरको छालासमेत काटेर लगिएको देखिन्छ । धेरै अङ्ग कुहिएका छन् । कुनै वेला ग्यालरी बैठक सजाउन प्रयोग गरिएका जीवजनावरका अङ्ग समाप्त हुँदैछन् । महँगो मूल्यमा बिक्ने भएकाले पनि जीवजन्तुको अङ्ग प्रत्यङ्ग चोरी–सिकारी हुने गरेको छ ।

त्यस्तै, राजामहाराजाले प्रयोग गरेका फर्निचर पनि यत्रतत्र फालिएका छन् । ठुल्ठूला पेन्टिङ च्यातिएका छन्, भुइँमा धुलाम्मे भएर बसेका छन्, ऐनाहरू फुटेका छन्, कार्पेट मिल्किएका छन्, हार्मोनियम अलपत्र छ, भवनभित्रै झार पलाएको छ । चन्द्रशमशेर राणाले विभिन्न सामग्री बेलायतबाट झिकाएर सिंहदरबारस्थित सो भवन निर्माण गरी सजाएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराई नेतृत्वको ३५ जनाको टोलीले राजामहाराजाले प्रयोग गरेको अखेटोपहारबारे केही दिनयता अध्ययन गरिरहेको छ । नारायणहिटी दरबारबाट यो अध्ययन सुरु भएको थियो ।

समितिले नारायणहिटी फारसखानामा रहेको अखेटोपहारको व्यवस्थापन गर्‍यो । त्यहाँ पनि हात्तीका छाला, गैँडाको टाउको, बाघको छाला, गोहीको टाउकोलगायत धेरै जीवजन्तुका हाडखोर छन् । समितिले काम लाग्ने र नलाग्ने अखेटोपहार छुट्याएको थियो । धेरै काम नलाग्ने गरी बिग्रिएको भट्टराईले बताए ।

भट्टराई नेतृत्वमा रहने गरी विभिन्न मन्त्रालय र निकाय समेटेर ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले अखेटोपहार व्यवस्थापन गर्न समिति गठन गरेको थियो । समितिमा ११ मन्त्रालयको प्रतिनिधित्व छ । ३५ सदस्यीय समितिमा सेना–प्रहरी पनि संलग्न छन् ।

अखेटोपहार कुहिएर नारायणहिटीमा दुर्गन्ध

तत्कालीन राजपरिवारले सिकार गरेका र उपहारमा पाएका वन्यजन्तुको हाड–छाला वर्षौँदेखि प्रयोगमा आएनन् । फारसखानामा थुपारियो । भवनमा पानी चुहिने भएकाले वन्यजन्तुका छाला ढुसी परेका छन् । कतिपय कुहिसकेका छन् ।

अखेटोपहार कुहिएपछि नारायणहिटीको पश्चिमपट्टि रहेको फारसखानामा दुर्गन्ध फैलिएको थियो । ‘नारायणहिटीका अखेटोपहार पनि धेरै त काम नलाग्ने अवस्था थिए । प्रयोगमा ल्याउनै नमिल्ने थिए,’ भट्टराईले भने ।

१६ साउनमा प्रत्यायोजित व्यवस्थापन समितिका सदस्य अखेटोपहारको अवस्था हेर्न नारायणहिटी दरबार संग्रहालय पुगेका थिए । गत बिहीबार समिति सभापति रामनारायण बिडारीले समेत ग्यालरी हल पुगेर अखेटोपहारलगायत अन्य वस्तुस्थिति बुझेका थिए । ‘जनावरका अङ्गहरू चोरिसके जस्तो छ । यसलाई त छिटै सुरक्षित ठाउँमा पुर्‍याउनुपर्ने रहेछ,’ अनुगमनपछि बिडारीले भनेका थिए ।

वन्यजन्तुको अंगमा बारकोड र चिप्स

समितिले नारायणहिटी र सिंहदरबारका काम लाग्ने अखेटोपहारको नापतौल लिएको छ । अखेटोपहार सुरक्षित राख्न बारकोड र चिप्स राखिएको छ । माइक्रोचिप्सलाई लुकाएर अखेटोपहारको कुनै भागमा राखिन्छ ।

अखेटोपहार हरायो भने प्रविधिको सहायताले त्यसको खोजी गर्न सकिन्छ । माइक्रोचिप्सको मद्दतले अखेटोपहार कहाँ राखिएको भन्ने सजिलै छुट्याउन सकिने संयोजक भट्टराईले बताए । चोरी हुँदा पनि फेला पार्ने सम्भावना रहन्छ ।

हनुमानढोकामा रहेका अखेटोपहार पनि व्यवस्थापन हुने

यही समितिले हनुमानढोकामा रहेको अखेटोपहार पनि व्यवस्थापन गर्ने जनाएको छ । हनुमानढोकामा पनि महत्वपूर्ण अखेटोपहार छन् । समिति गठन गर्दा नै नारायणहिटी, सिंहदरबार र हनुमानढोकाको अखेटोपहार व्यवस्थापन गर्ने बताइएको थियो । नारायणहिटीको काम सकिएपछि केही दिनदेखि टोली सिंहदरबारमा छ । सिंहदरबारमा व्यवस्थापन सकिएपछि टोली अनुमानढोकातिर लाग्नेछ ।

भूकम्पमा भत्कियो सिंहदरबारको ग्यालरी भवन

०७२ को भूकम्पले सिंहदरबारको ग्यालरी भवन ध्वस्त बनायो । अहिले फलामको डन्डी लगाएर भवन जोगाइएको छ । पुनर्निर्माण थालिएको छ । तर, त्यहाँ रहेका सामग्री भने अन्यत्र सारिएको छैन ।

वन्यजन्तुका कैयौँ अङ्ग काम नलाग्ने भएका छन

गणेशप्रसाद भट्टराई, संयोजक, अखेटोपहार व्यवस्थापन समिति (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक)
भूकम्पपछि नारायणहिटी फारसखानामा भएका अखेटोपहार बिग्रिएको अवस्थामा छ । पानीले भिजेर काम नलाग्ने भएको छ । हनुमानढोकामा पनि भूकम्पले असर गरेकाले उस्तै अवस्था छ । सिंहदरबारमा त धेरै बिग्रिएका छन् । छालाले मोरेर माटो, पराल राखेर टाउको बनाइएको रहेछ । भूकम्पछि पानी परेर ती सबै गलेर बिग्रिए ।

विगतमा नारायणहिटीभित्र मान्छेको पहुँच हुँदैन थियो । पहुँच नभएका कारण खासै वास्ता पनि हुँदैनथ्यो । राजसंस्था अन्त्य भएपछि त्यहाँभित्रका कुरा जान्ने मौका पायौँ । ढिलै भए पनि जीवजन्तुका अंग व्यवस्थापनमा लागेका छौँ ।

नारायणहिटीको फारसखानामा छाला र सिङ मात्र छन् । वर्षौँदेखि छाला एकै ठाउँमा राख्दा तापक्रम नमिलेर बिग्रिएका छन् । बिग्रिएका छालालाई अब पुरानो अवस्थामा फर्काउन सकिँदैन । नष्ट गर्नुको विकल्प छैन । प्रयोग गर्न मिल्नेलाई भने माइक्रोचिप्स राखेर, बारकोड गरेर अभिलेख तयार गर्दैछौँ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Pathivara News | Site By : SobizTrend Technology