भूकम्प पीडितलाई बर्खाको चिन्ता, पानी पसेर आहल बन्यो घर

बुधबार साँझदेखि परेको अविरल वर्षाले काभ्रेमा एक जनाको ज्यान गयो । काभ्रेको पाँचखाल नगरपालिका माझिगु खोलाले बगाउँदा ६५ वर्षीय डोरना कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाढी पहिरोले केही ठाउँमा भौतिक क्षतिसमेत भयो । अविरल वर्षापछि काभ्रेमा खोला तथा नदीमा उच्च वहाव भएसँगै पानी बस्तीमा छिरेर बस्तीलाई नै प्रभाव पर्यो । काभ्रे पनौती, २ मा तोरण तिमल्सिना र सरिता दाहालको घर पहिरोमा पर्यो । यसैगरी रोशी गाउँपालिका, ८ मा देवबहादुर मल्लको घर पहिरोले बगाएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

पहिरोले पनौती, ३ का कुशादेवीमा विदुर सापकोटाको गोठ भत्किएर १ भैँसी, ३ गाई र २ खसी मरे । अविरल वर्षाले काभ्रेको बनेपा र पनौतीलगायतका विभिन्न ठाउँका बस्ती डुबानमा परेको छ ।
वर्षाको कारण अवरुद्ध बिपी राजमार्ग खुले पनी अन्य राजमार्ग अझै खुल्न सकेको छैन । जिल्लाभरिका ग्रामीण सडकमा पहिरोले अवरुद्ध हुँदा बिहिबार सवरी चल्न सकेन ।

भूकम्प पीडितको बिचल्ली

बनेपा नगरपालिका–७ झापालीटोलकी ५२ वर्षीय चन्द्रमाया प्रधान बुधबार राति परेको पानीले समस्यामा परिन् । भूकम्पमा बल्लबल्ल ज्यान जोगाएकी उनलाई मध्यरातमा ज्यान जोगाउनै मुस्किल भयो । भूकम्प पीडित भए पनि हालसम्म राहत र अनुदान नपाएकी उनी बस्दै आएको भत्केको घरमा पानीको भेल पसेपछि थप समस्यामा परिन् ।

‘१४ वर्षीय अपाङ्ग भएकी रमिला र १२ वर्षीय छोरी प्रमिलालाई जसोतसो वर्षाबाट त जोगाइन । तर, लुगाफाँटासहित समान भने जोगाउन सकिन्,’ उनले गहभरी आँसु पार्दै भनिन् । सिनागालस्थित पुण्यमती खोला छेउको टहरामा बस्दै आएकी प्रधान नगरपालिकाले मोटर बाटो निर्माण गर्दा टहरो भत्किएपछि एक साताअघि भूकम्पले भत्काएकै घरमा बस्न आएकी थिइन् । घर भत्किएर घरबार विहिन भएकी प्रधानले अहिलेसम्म सरकारी तथा कुनै पनि निकायबाट सुविधा पाउने सूचीमा पर्न सकिरहेकी छैन ।

‘आफ्नो बोली दिने कोही भएन त्यसैले केही सुविधा पाउन सकिन्,’ उनले नयाँ पत्रिकासँग भनिन् । उनी भन्छिन्, ‘सुनेकी थिए, विधवा र महिलाहरुको परिवारलाई सरकारले नै घर बनाइदिन्छ । तर, मैलेले त केही पनि पाइन् ।’

प्रधानको बारेमा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेसँग बुझ्दा उनले प्राधिकरणले के कसरी मुल्याङ्कन गरेको हो थाहा नभएको भन्दै चन्द्रमायाले अनुदान पाउनु पर्ने बताए । प्रधान भन्छिन, ‘गरीबलाई भाग्यले पनि ठक्दो रहेछ कहिले भुकम्पले यस्तो बनायो । अब, बर्खामा के हुने हो । पानी पर्न थाल्यो छोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताउछ ।’

चन्द्रमाया जस्तै बेथान चोकका वीरबलले पनि रातभर नसुती समय बिताए । बेथान चोक गाउँपालिका–५ दोमान डाँडाका ५६ वर्षीय वीरबल गोले दिनभर ज्याला मजदुरीमा भारी बोक्ने काम गर्छन । उनले यसरी भारी बोक्ने काम गरे बापत सयदेखि तीन सयसम्म कमाउँछन् ।

दिनभर भारी बोक्ने र साँझा मात्रै परेपछि मात्र बास खोज्ने वीबलको दैनिकी हो । उनी भन्छन्, ‘श्रीमती र छोरा कहाँ छ, ठेगान छैन । भुक्तपुरतिर इट्टभट्टमा काम गरेको भन्ने सनेको छु । फर्केर आएका छैनन् ।’ उनी थप्छन् ‘भूकम्पले घर न घाटको बनायो । बाँच्नका लागि भारी बोक्न पर्यो साँभm परेपछि अरुको टहरा खोज्नुपर्छ ।’ उनले भारी बोक्न थालेको तीन दशक भए पनि अहिलेसम्म टहरामा नै बस्दै आएका छन् ।

बुधबार साँझदेखि परेको पानीले जिल्ला अधिकांश भूकम्प पीडितहरुको बिचल्ली बनाएका छ । भूकम्पले घर भत्काएको तीन वर्षसम्म बन्न नसकेपछि अस्थाई टहरामा बस्दै आएका उनीहरुको बिचल्ली भएको हो ।

जाडोपछि बर्खाको डर

भूकम्पले घरबारबिहिन बनाएको तीन वर्ष भयो । तीन वर्खा बितिसक्यो काभ्रेका अधिकांश भूकम्प पीडित अझै टहरामा नै रात काट्न विवश भएका छन् । वर्षातको बेला पानीले अस्थायी टहरामा कति खेर पानीको अहाल बन्छ बन्ने हुँदैनन् ।

२०७२ बैशाख १२ गतेको भूकम्पले घरबार गुमाएका पीडितहरुले अझै घर बनाउन सकिरहेको छैन । टहरामा जाडो कटाएर ज्यान जोगाएका भुकम्प पीडितले यो बर्खामा कसरी ज्यान जोगाउने भन्ने चिन्ताले सताउन थालेको बताउँछन् । सरकारले सहयोग गरेपछि घर बनाउने आशामा बसेका उनीहरु अहिले पनि टहरामा बस्दै आएका छन् ।

भूकम्प पीडितहरुलाई सरकारले २ प्रतिशत व्याजमा पैसा दिने भने पनि झण्जट भएकाले अन्योलमा परेको बेथान चोक गाउँपालिकाका शिक्षक गणेशप्रसाद नेपालले बताए । उनी भन्छन्, ‘ठूला व्यापारीलाई लाग्ने जस्तै नियम लगाएर भूकम्प पीडितले कसरी घर बनाउन सक्छन ?’

शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार