समाचार टिप्पणी एकताका नाममा माओवादी सिध्याउने भारतीय षडयन्त्र ?

गोकर्ण भट्ट, समाचार टिप्पणी । नयाँ वर्षको आगमनसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले चारवटा महत्वपूर्ण कुरा अघि सारे ।
पार्टी एकताका लागि गत असोजदेखि निरन्तर क्रियाशील प्रचण्डको यो वर्षको शुरुआतमा देखिएको अभिव्यक्ति स्वभाविक भने थिएन । यसअघि एकताका बारेमा सबै कुरा सकारात्मक भन्दै आएका प्रचण्डले एभरेष्टदैनिकडटकमसँगको अन्तर्वार्तामा पहिलोपटक एकताका बारेमा आशंकायुक्त खुलासा गरेर यी कुरा अघि सारेका थिए ।

प्रचण्डले एकता इतिहासको अनिवार्यता र जनताको अभिमत भएपनि एकता प्रक्रियाले नेपाली समाजलाई एक खुडकिला माथि लैजान नसक्ने अवस्थामा, परिवर्तनका एजेण्डा संस्थागत नहुने अवस्थामा जबर्जस्ती एकता गर्नैपर्छ भन्ने छैन भन्ने कुरा सार्वजनिक गरे ।

‘एकता अवश्य हुन्छ र हुनुपर्छ तर…’ भन्ने उनको भनाईको सार थियो ।

यो तर.. भित्र एउटा डरलाग्दो आशंका व्याप्त भएको उनका पछिल्ला अभिव्यक्तिहरुले पुष्टि गर्यो । यो आशंका थियो– कतै एकताले प्रतिगमनको या यथास्थितिवादको या संसदवादको सेवा नगरोस् । कतै यो एकता माओवादी आन्दोलनका उपलब्धि, बलिदान, संघर्ष र परिवर्तनका एजेण्डालाई भुत्ते बनाउने नहोस् ।

त्यसैले प्रचण्डले एकता र परिवर्तन, एकता र समृद्धि, एकता र बलिदान, एकता र संघर्ष, एकता र सम्मानलाई परिपूरकका रुपमा लिनुपर्ने बताउँदै अप्रैल ९ का दिन आयोजना गरिएको लेनिन जयन्तीमा समानताका आधारमा एकता हुनुपर्ने धारणा अघि सारे ।

प्रचण्डको भनाईको सार माथि भनेजस्तै यो एकताले अग्रगामी कदमको गोरेटो कोरोस् भन्ने देखिन्छ । यो अग्रगामी गोरेटोका लागि अहिले एमालेले समात्दै आएको बहुदलीय जनवादको परित्यागसँगै नयाँ परिवर्तनमुखी राजनीतिक कार्यदिशा र माओवादी आन्दोलनको स्वामित्व नयाँ पार्टीले लिनुपर्ने उनको भनाईको आशय देखिन्छ ।

यदि संसदवादकै गोलचक्करमा फस्ने हो, यदि समाजवादी क्रान्तिको कार्यदिशा निर्माण नगर्ने हो, हिजो संसदवादमा रुमल्लिएको एमाले र कांग्रेसलाई समेत सामन्तवादी राजतन्त्रकाविरुद्ध समावेशी संघीय गणतन्त्रसम्म ल्याइपुर्याएको माओवादीका एजेण्डा र संघर्षले स्थान नपाउने हो भने एकताको अर्थ छैन भन्ने स्पष्ट सन्देश प्रचण्डले यो बीचमा बिभिन्न कार्यक्रममा दिएको देखिन्छ ।

नेपालमा वामपन्थीहरुको बलियो सरकार, उनीहरुबीच बलियो कम्युनिष्ट केन्द्र र त्यो कम्युनिष्ट केन्द्रले समाजवादी क्रान्तिको बाटो समात्दा सबैभन्दा बढी असर पर्ने दुईवटा शक्तिकेन्द्रहरु छन् ।

र, हिजो मात्रै प्रचण्डले रौतहट पुगेर एकता प्रक्रिया र समग्र यो परिवर्तनको प्रक्रियालाई ध्वस्त पार्न देशी विदेशी षडयन्त्रकारीहरु सक्रिय भएको खुलासा गरे ।
यसको अर्थ उनले बिस्तृतमा भनेनन् तर यो उनको पछिल्लो आशंका हो । र, यो षडयन्त्रभित्र एकता भाँड्ने षडयन्त्र मात्र छैन बरु परिवर्तनको नेतृत्वदायी भूमिकामा रहेको माओवादी आन्दोलन र राजनीतिक रुपमा उसले उठान गरेका एजेण्डाहरुको अन्त्य पनि हो भन्ने कुरा प्रचण्डको अभिव्यक्तिबाट स्पष्ट झल्किन्छ ।

प्रचण्डको भनाईबाट स्पष्ट छ, नेपाल समाजवादी क्रान्तिमा अघि बढ्दा त्यसबाट देश र विदेशमा झस्किनेहरु असंख्य छन् । उनीहरु शक्तिशाली छन् । उनीहरुले एकताको खोलभित्र र एकता भाँडेर (जसरी हुन्छ त्यसरी) माओवादी आन्दोलनको विलय या समापन गराउन खोजेका छन् ।

नेपालमा वामपन्थीहरुको बलियो सरकार, उनीहरुबीच बलियो कम्युनिष्ट केन्द्र र त्यो कम्युनिष्ट केन्द्रले समाजवादी क्रान्तिको बाटो समात्दा सबैभन्दा बढी असर पर्ने दुईवटा शक्तिकेन्द्रहरु छन् ।

पहिलो, नक्सलवादसँग गम्भीर ढंगले आधा शताब्दीदेखि लडिरहेको भारत र अर्को विश्वभरी साम्यवादको भूतले पहिलो र दोश्रो विश्वयुद्धदेखि अहिलेसम्म झस्किदै आएको विश्व पूँजिवादी खेमा ।

भारतका लागि नेपालका वामपन्थीहरु मिल्दा समस्या छैन । पश्चिम बंगाल या केरला जस्तो माकपा या भाकपाको स्थिर सरकार नेपालमा बने पनि भारतलाई समस्या छैन । तर भारतको टाउको दुखाईको विषय फेरि पनि प्रचण्ड हुन । माओवादीले अहिले पनि जनवादी क्रान्तिको एउटा मुख्य कार्यभारका रुपमा रहेको नवउपनिवेशवाद/विस्तारवादबाट मुक्तिको जिम्मेवारी पुरा नभएको बताउँदै आएको छ । त्यसैले प्रचण्ड प्रभावी हुने एकता भारतलाई पच्य हुँदैन । उसका लागि प्रचण्ड मर्दन भएको, प्रचण्डको प्रभाव नरहेको, माओवादीको प्रभाव नरहेको र संसदवादी गोलचक्करमा फँस्ने पार्टी ठीक छ । त्यसैले भारतीय संस्थापन भित्रको एएटा पक्षले यो एकतालाई क्रान्तिकारी दिशामा जान दिँदैन ।

नक्सलवादीहरुले नेपालको माओवादी केन्द्रलाई संशोधनवादी भनेपनि भारतका लागि माओवादी केन्द्र अहिले पनि चीनसँग नजिक सम्बन्ध भएको माओवादी पार्टी नै हो ।

कतै प्रचण्डले यसतर्फ संकेत गरेका हुन ?

विदेशी षडयन्त्रकारीहरुविरुद्ध अन्तिम संघर्ष भन्नुको अर्थ कतै न कतै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने कार्यनीति नै हो । र, बहुदलीय जनवादबाट एक बित्ता माथि उठेर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्ने हो भने अन्तरविरोध हल गर्ने सवालमा पहिलो संघर्ष यही विदेशी षडयन्त्रकारी या प्रतिक्रियावादी या विस्तारवादी हुने छन् । यसको अर्थ हो, भारतले भविष्यमा नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुले आफ्नो विस्तारवादविरुद्ध संघर्ष गरेको देख्न चाहन्न । उसलाई समर्पणवादी कम्युनिष्ट चाहिएको छ ।

अर्कोतर्फ यदि नेपाल समाजवादी बाटोमा अघि बढे यसले भारतभित्र सामाजिक न्यायका पक्षमा चलेको कैयन् आन्दोलनहरुले उर्जा पाउने निश्चित छ । यो उर्जाको आगो नक्सलवादीहरुसम्म पनि पुग्ने हुन्छ । नक्सलवादीहरुले नेपालको माओवादी केन्द्रलाई संशोधनवादी भनेपनि भारतका लागि माओवादी केन्द्र अहिले पनि चीनसँग नजिक सम्बन्ध भएको माओवादी पार्टी नै हो । त्यसमा पनि प्रचण्डको व्यक्तित्व र भूमिकाको आँकलन गर्न त्यति सहज नहुने भएकोले पनि कतै यो एकताले नेपालमा बलियो क्रान्तिकारी कम्युनिष्ट केन्द्र त बन्ने हैन ? भन्ने आशंकाका कारण पनि भारतको एउटा पक्षले क्रान्तिकारी ‘फ्लेभर’मा एकता हुन दिने छैन ।

उनका अभिव्यक्तिहरुले उनीभित्र माओवादी आन्दोलनको वैचारिक आयाम समाप्त हुने चिन्ता सबैभन्दा बेसी देखिन्छ ।

अर्कोतर्फ विश्व पूँजिवाद, यसको धुरी रहेको अमेरिका, बिभिन्नि वित्तिय संस्थाहरुलगायत पँुजिवादको प्रभावकेन्द्रमा रहेका शक्तिहरुले समेत यो एकतालाई माओवादी केन्द्र भनौं या आन्दोलनको विघटनको अर्थमा सहयोग गर्ने देखिन्छ । यदि यसले क्रान्तिकारी परिवर्तन या चरित्र ग्रहण गर्न खोजेको अवस्थामा एकता हुन नदिन उनीहरुले भरमग्दूर प्रयास गर्ने छन् ।

कतै प्रचण्डले यो पक्षविरुद्ध संघर्ष गर्नुपर्ने भनेका त होइनन् ।

जे जसरी प्रचण्डले अभिव्यक्ति दिएपनि उनका अभिव्यक्तिहरुले उनीभित्र माओवादी आन्दोलनको वैचारिक आयाम समाप्त हुने चिन्ता सबैभन्दा बेसी देखिन्छ । चालिसको दशकदेखि माओवादी आन्दोलनको वैचारिक धारको नेतृत्व गर्दै आएका प्रचण्डले शान्ति सम्झौतामा एकहदसम्मको वान स्टेप ब्याक हटेको भएपनि, त्यसपछि संगठनात्मक र वैचारिक क्षेत्रमा कैयन क्षणमा सम्झौता गर्नु परेको भएपनि समग्रमा उनको एजेण्डाले राज्यको पुनःसंरचना गर्न सफल भएको तथ्यलाई नकार्न मिल्दैन । त्यसैले आफैले नेतृत्व गरेको आन्दोलन, त्यसको उपलब्धिलाई यथास्थितिमा लगेर थन्क्याउनु पर्ने चिन्ता उनीभित्र देखिन्छ ।
र, यो सँगै जोडिन्छ उनको नेतृत्व । एभरेष्टदैनिकडटकममा प्रचण्डले भनेका छन्– मेरो स्वभावले मलाई पहिलो नेतृत्वबाहेक अरु हुन दिँदैन । म छँदासम्म मेरो नेतृत्व नै प्रधान हुन्छ । नेतृत्व भनेको व्यक्ति र विचारको सम्मिश्रण हो । प्रचण्डले व्यक्ति र विचारको सम्मिश्रणले नै प्रधानता पाउने दृढता व्यक्त गरेको अवस्थामा कार्यदिशा आफ्नो नहुने र त्यसको नेतृत्व पनि आफूले गर्न नसक्ने अवस्था सिर्जना हुने हो भने एकता के का लागि भन्ने चिन्ता उनीभित्र पलाउनु स्वभाविकै हो ।

इतिहास साक्षी छ, कुनै बेला मालेको तुलनामा दश प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकता गर्दा बराबरी र समानताको सिद्दान्त अपनाउने यिनै एमाले नेताहरु हुन । त्यसैले एमालेका लागि यो एकता आफ्नो प्रभाव, आफ्नो वर्चश्व बलियो बनाउने रणनीति देखिएको छ ।

यता नेकपा एमालेका लागि भने एकताको कुनै रणनीतिक महत्व देखिँदैन । एमालेभित्रका एकथरि इमान्दार र नेपाली समाजलाई अग्रगमनतर्फ लैजानुपर्छ, कम्युनिष्टहरुले आफ्नो आदर्श र लक्ष्य पछ्याउनु पर्छ भनेर विचार राख्ने तप्का बाहेक उनीहरुले एकतालाई तत्कालिन चुनाव जित्ने रणनीतिकारुपमा मात्रै उपयोग गरेको देखिन्छ । अन्यथा, एकताको स्पिरिटले समाजवादी क्रान्तितर्फ अघि बढ्ने स्पिरिट देखाउँथ्यो भने एमाले बहुदलीय जनवादमा मात्रै ‘स्टिक’ हुने थिएन । किनभने बहुदलीय जनवाद एउटा संक्रमणकालिन राजनीतिक कार्यक्रम हो भन्ने कुरा एमालेभित्रका नेताहरुले नबुझेका होइनन् । त्यसैगरि उनीहरुले संख्याको र चुनावमा पाएको भोटको दम्भ देखाउँदैनथे होलान् ।

इतिहास साक्षी छ, कुनै बेला मालेको तुलनामा दश प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकता गर्दा बराबरी र समानताको सिद्दान्त अपनाउने यिनै एमाले नेताहरु हुन । त्यसैले एमालेका लागि यो एकता आफ्नो प्रभाव, आफ्नो वर्चश्व बलियो बनाउने रणनीति देखिएको छ । अन्यथा, समाजवादी क्रान्तिको आधार तयार गर्ने संक्रमणकालिन कार्यदिशा निर्माण गर्न उनीहरुले आनाकानी गर्नुपर्ने थिएन ।

एकताबाट पछाडि हट्ने छूट र सम्भावना दुबै पार्टीसँग छैन । उनीहरु निकै अगाडि पुगिसकेका छन । तर यदि प्रचण्डको आशंका र एमालेको वर्तमान प्रवृत्ति कायमै रहेको अवस्थामा पार्टी एकता भयो भने यसले के साँच्चिकै जुन बाटोमा छलाङ मार्नका लागि एकता गर्न खोजिएको हो, त्यो प्राप्त होला र ? के यी आशंका र प्रवृत्ति अन्त्य नगरी एकता गर्दा देश स्थिरताको नाममा थप अराजकतातर्फ अगाडि नबढ्ला र ?

तर प्रचण्डकै भाषामा दुबै पार्टी पुल भत्काएर अघि बढिसकेको अवस्थामा माओवादी नेता मणि थापा र वाइसिएल इन्चार्ज दीपशीखाकै शब्दमा, तलसम्म बहस गरौं, परिपक्व र क्रान्तिकारी स्पिरिटकासाथ विचार, संगठन र कार्यशैली निर्माण गरौं । कम्तिमा एकताका लागि हतारो नगरौं

आइतवार, बैशाख १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार