यी हुन् प्रदेश ७ का अलपत्र विमानस्थल

सडक सञ्जाल विस्तार नहुँदासम्म कर्णालीपारिका लागि हवाईमार्गको यात्रा आरामदायी र भरपर्दो थियो । डडेल्धुराबाहेक आठै जिल्लामा रहेका नौवटै विमानस्थलमा प्रायः नियमित उडान हुन्थे । दुई दशकयता भने प्रदेश ७ का सातवटा विमानस्थल बन्द छन् भने सञ्चालनमा रहेका दुईवटा विमानस्थलको अवस्था पनि सुदृढ छैन ।

प्रदेश ७ का कैलालीको धनगढी विमानस्थल र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । धनगढीमा जग्गाको मुआब्जा विवादले विस्तार गर्न ढिलाइ भइरहेको छ भने कोल्टीमा पनि उडान नियमित छैन । कञ्चनपुरको मझगाउँ, कैलालीको टीकापुर, बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय बासिन्दा पहल गर्दै आइरहेका छन् ।

धनगढीमा रात्रिकालीन उडानको अध्ययन

कैलालीको धनगढी विमानस्थलमा रात्रिकालीन उडानका लागि आवश्यक उपकरण भिओआर–डिएमई जडानका लागि प्राविधिक अध्ययन सुरु भएको छ । जापानी सहयोग नियोक (जाइका) को सहयोगमा भिओआर–डिएमई राख्ने ठेक्का पाएको कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको हो ।

टोलीमा सहभागी नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक संजीवसिंह कठायतले उपकरण राख्नका लागि अधिग्रहण गरेको जग्गाको भौगोलिक अवस्थिति हेरेको बताए । उनले भने, ‘अधिग्रहण गरिएको जग्गा भिओआररडिएमई राख्नका लागि उपयुक्त देखिएको छ ।’ यो उपकरण राखेपछि खराब मौसमका कारण उडान रद्द गर्नुपर्ने अवस्था नरहने उपनिर्देशक कठायतले बताए ।

यो उपकरण नहुँदा हिउँदमा उडान रद्द हुने गरेको छ । यस वर्ष पुसयता १६ दिन उडान रद्द भएको नागरिक उड्डयन प्राधिकरण, धनगढीका प्रमुख छविसिंह ठगुन्नाले बताए । उनले भने, ‘हुस्सु लागेका वेला भिजिबिलिटी नपुग्ने भएकाले उडान रद्द हुन्छ ।’ अहिले बुद्ध, सौर्य, श्री र नेपाल वायुसेवा निगमको काठमाडौं–धनगढी दैनिक एक–एक उडान हुन्छ ।

त्रिभुवन विमानस्थलपछि दोस्रो लामो धावनमार्ग धनगढी विमानस्थलकै छ । जुन एक हजार आठ सय मिटर लामो र ३० मिटर चौडा छ ।

यसका लािग प्राधिकरणले अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणमा विवाद देखिएको छ । मुआब्जा रकम चित्त नबुझेपछि यादवप्रसाद जोशी र जयबहादुर भण्डारीले मुद्दा दायर गरेका छन् । प्राधिकरणले १७ बिघा ४ कट्ठा जमिन अधिग्रहण गर्न लागेको हो । योसहित विमानस्थलको क्षेत्र ७० बिघा पुग्नेछ । मुआब्जाका लागि २३ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ । दुईजनाले मुद्दा हालेपछि अन्य जग्गाधनी पनि मुआब्जा बुझ्न नआएको प्राधिकरणले जनाएको छ । आठ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ ।

कोल्टी विमानस्थलको उडान अनियमित
प्रदेश ७ को सञ्चालनमा रहेको अर्को विमानस्थल बाजुराको कोल्टीमा पनि उडान नियमित छैन । उडान अनियमित हुँदा बाजुराको उत्तर–पूर्र्वी क्षेत्रसँगै मुगु र हुम्लाका यात्रु मर्कामा परेका छन् । कोल्टी विमानस्थल कार्यालय प्रमुख मोहन गिरीले भने, ‘मौसम खराबी र कर्मचारीको कमीले उडान नियमित हुन सकेको छैन ।’ सडक सञ्जाल नभएको यस क्षेत्रका बासिन्दाका हवाई सेवामै निर्भर छन् । बिरामीलाई उपचारका लागि लग्न समस्या हुने गरेको स्थानीय बासिन्दा अनिल शाहीले बताए । उनले भने, ‘सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र उनीहरूका आफन्तलाई ठीक हुन्छ, सर्वसाधारणले टिकट पाउनै गाह्रो हुन्छ ।’

कोल्टीबाट नेपालगन्ज, सुर्खेत र जुम्लाका लागि उडान हुन्छ । तारा, सीता, मकालु, समित र नेपाल वायुसेवा निगमले हप्तामा एक–दुई उडान भर्ने भए पनि कुन दिन हुन्छ भन्ने यकिन नहुने कार्यालय प्रमुख गिरीले बताए । यो विमानथल ०३५ देखि सञ्चालनमा आएको हो । स्थानीय बासिन्दाले नेपालगन्जभन्दा पनि कोल्टी–धनगढी उडान सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।

गोपाल साउदको संयोजनमा धनगढीबाट तेजराज भट्ट, बाजुराबाट गगन अयडी, कञ्चनपुरबाट मोहन विष्ट, टीकापुरबाट दिलबहादुर चौधरी, बैतडीबाट मिलनप्रकाश ढुंगाल, डोटीबाट कर्ण चन्दले नयाँ पत्रिकामा तयार पारेको रिपोर्ट

शनिबार, माघ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार