राजाले शेरबहादुर देउवालाई बर्खास्त गरेको कुरालाई गिरिजाबाबुले गंभीरतापूर्बक लिनुभएन

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘टेकओभर’ गर्नु अगाडि देखि नै केही हल्ला चलेको थियो । अनेक आशंकाहरु पैदा भएका थिए । राजाले ‘टेकओभर’ गर्दैछन्,तपाईंहरु जोगिनुहोला भनेर सूचनाहरु मलाई प्राप्त भईरहेका थिए । त्यो सूचना पाएपछि मैले घर छोडेँ । म बालकुमारी पुगें । कृष्णलाल महर्जनको छिमेकीको घरमा लुकेर बसें । बिहान १० बजे राजाले ‘टेकओभर’ गरेको घोषणा गरे ।

त्यसपछि मैले एमालेको पार्टी कार्यालय बल्खुमा नेपाली कांग्रेस सहितको बैठक बोलाएँं । तर गिरिजाबाबु (नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला) आउनु भएन । सूर्यबहादुर थापा चाहि आउनु भयो । गिरिजाबाबु के आलटाल आलटाल गर्न थाल्नुभयो । उहाँं नआएपनि एक्लै अगाडि बढौं भने मैले । त्यसको भोलिपल्ट अरु वाम पार्टीहरुलाई पनि बल्खुमा बोलाएँ । राजाको कदम विरुद्ध अगाडि बढौं भनें । अर्को पटकको बैठकमा भने गिरिजाबाबु पनि आउनु भयो । राजाको कदमको बिरोध गर्ने बिषयमा सबैको सहमति भयो । तर सरकारको पुनर्बहालीको बिषयमा गिरिजाबाबुले मान्नु भएन । त्यसपछि राजाले प्रधानमन्त्री नियुक्त गरेको विरोधमा सहमति जुटायौं । पार्टीहरुको सिफारिसबाट मात्र प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भनेर हामीले माग राख्यौं । तर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनिसकेको थियो । त्यसको विरोधमा बिभिन्न कार्यक्रम लिएर अगाडि जान हामी तयार भयौं ।

राजाले ‘टेक ओभर’ गरेको दिन नै मैले बसौं भनें । तर गिरिजाबाबुले मान्नु भएन । राजाले शेरबहादुर देउवालाई बर्खास्त गरेको कुरालाई उहाँंले गंभीरतापूर्बक लिनुभएन ।

राजाले ‘टेक ओभर’ गरेको दुई दिनपछि मलाई घरमा नै नजरवन्दमा राखियो । मैले के छ आधार भनेर सोध्दा नजरवन्दको पुर्जी थमाईयो । त्यसपछि घरमा भेट्न आउने स्वदेशी तथा बिदेशीहरुको निकै चहल पहल बढ्यो । केही बिदेशीलाई भेट्न दिए पनि अरुलाई दिईएन । मैलै छतमा निस्केर सबैलाई आउनुस् भन्थे । तर प्रहरीले रोक्थ्यो । छतबाट हात हल्लाएर भेट्न आउनेलाई धन्यवाद दिन्थेँ ।

संचार सम्बन्ध बिच्छेद गरिएको थियो । भेटघाट बन्द गरिएको थियो । म भित्र भएपनि बाहिरका साथीहरुसँगको पत्राचार कायम राखेँं । मेरी श्रीमतिको माध्यमबाट चिठी लेखेर पठाउने गर्थेँ । हाम्रा पार्टीका साथीहरुमध्ये अमृत बोहोराको हातमा पुग्ने गरी पत्र पठाउथेँ । उहाँंहरुबाट बाहिर के भईरहेको छ भन्ने जानकारी लिन्थेँ ।

नजवन्दको समयभरी किताव पढियो । बीपी कोइरालाको जेल जर्नल, कर्ण शाक्यका केही किताब पढेँ । तीन महिना घरभित्र बस्दा त्यस्तो कुनै कठिनाई भएन । हामी त पहिला भूमिगत बसेकै थियौं । प्रजातान्त्रिक व्यवस्थामा नेताहरुलाई थुनेर राखेको अवस्था देखेर मलाई राजतन्त्रको आयु सकिए जस्तो लाग्यो । बाहिर रहेका साथीहरुलाई दह्रो गरी आन्दोलनमा उत्रनुस् भनियो ।

त्यसपछि यसमा अर्को पक्ष पनि जोड्न चाहन्छु । मेरो आमाको निधन भयो । निधन भएको दिन बेलुका सूर्यबहादुर थापा आर्यघाटमा समवेदना दिन आउनु भयो । उहाँं मेरो आमाको निधन हुने अघिल्लो दिन राजाबाट प्रधानमन्त्री नियुक्त भईसक्नुभएको थियो । म किरियापुत्री घरभित्र बसिन । आमालाई जिउँदो हुँदा पो राम्रो गर्ने हो त । मरेपछि किरियापुत्री बस्नुको कुनै सम्बन्ध छैन । सबैका आ–आफ्नै मान्यता हुन्छन् । तर मान्छेले माधव नेपाल प्रधानमन्त्री हुनका लागि आमाको किरियामा बसेन भनेर प्रचार गरे ! सूर्यबहादुर थापा अघिल्लै दिन प्रधानमन्त्री बनिसक्नु भएकोथियो । प्रधानमन्त्री बन्ने र आमाको किरिया नगर्ने भन्ने कुराको कुनै सम्बन्ध नै थिएन । अहिलेसम्म पनि प्रधानमन्त्री बन्नका लागि किरिया बसेन भनेर लेखेको लेख्यै छन् ।

(१९ माघ २०६१ को कू पछि तत्कालै नजरबन्दमा परेका एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालसँग सरल पत्रिकाले गरेको कुराकानीमा आधारित)

शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार