उखु किसान र उद्योगीबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी सहमति

सर्लाही, मंसिर २८ /

उखु किसान र उद्योगीबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ शुरु गर्ने सहमति भएको छ ।


काठमाडौंमा भएको दुई पक्षीय वार्ताले गत वर्ष कायम गरिएको प्रति क्वीन्टल मूल्य ५ सय ३१ रुपैंया २० पैसाबाट नघट्ने गरी उखुको न्यूनतम मूल्य कायम गरी उद्योग सञ्चालन गर्ने निर्णय गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

उनका अनुसार हाललाई गतवर्षकै मूल्यमा किसानले भुक्तानी लिने र माघ दोस्रो साता उद्योगी, किसान र सरकारका प्रतिनिधी बसेर मूल्य कायम गर्ने सहमति भएको हो ।

यो सहमतिसँगै अब तराईका चिनी उद्योगले उखु क्रसिङ थाल्ने भएका छन् । वार्तामा उद्योगीहरुले अरु देशबाट आउने चिनीमा सरकारले भन्सारवृद्धि गरे गतवर्षको भन्दा मूल्य बढाउन सहमति जनाएका छन् ।

मूल्य कायम भएपछि किसानलाई बढोत्तरी रकम दिने सहमति समेत भएको महासंघका अध्यक्ष मैनालीले बताए । लामो प्रयासपछि मूल्य कायम हुँदा तराईका उखु किसान खुशी भएका छन् ।

उनीहरु चिनी उद्योग सञ्चालन नहुँदा स्थानीय क्रसर उद्योगमा सस्तो मूल्यमा उखु बेच्न बाध्य भएका थिए ।

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार