पुँजीवाद र साम्यवादभन्दा ठूलो चिज त अस्तित्व रहेछ ;कुमार लिङदेन

कांग्रेस र एमालेका नेताहरुले हामीलाई तिमीहरुको सबै ठीक छ, दर्शन नै छैन । कि पुँजीवाद रोज कि साम्यवाद रोज भन्छन् । खाली दर्शन छैन भन्छन् ।
हाम्रो नेपालमा के छ भने फेरि पढेलेकाहरुको जबरजस्त पकड छ । शिक्षकहरुको, पढेलेखेको वर्गहरुको जबरजस्त गाउँसम्म पकड छ । मान्छेहरु परिवर्तनका लागि आउन चाहन्छन् तर एउटा शिक्षकले रोकिदिन्छ । ऊ कि एमाले कि कांग्रेसकोे कार्यकर्ता हुन्छ । उसले ‘यिनीहरुको दर्शन नै छैन’ भनिदिन्छ ।
हामीलाई पनि लागिरहेको थियो कि ‘हाम्रो दर्शन छैन नै त ?’ भन्ने कुरा । त्यसपछि हामीले एउटा दर्शनलाई अगाडि सारेका छौं । हामीले संघीय सहअस्तित्ववाद, संघीय सामुदायिक समाजवाद र संघीय इको-इकोनोमीलाई दर्शनको रुपमा अघि सारेका छौं । अहिले हाम्रो दाबी के छ भने संसारको कुनै पनि घटना हामी यही दर्शनमार्फत विश्लेषण गर्न सक्छौं ।

 

संघीय सहअस्तित्ववाद
दार्जिलिङमा अहिले आन्दोलन भइरहेको छ । उनीहरुले खानलाउन पाइरहेकै छन् । नेपालको सबभन्दा शिक्षितहरु दार्जिलिङ गएर पढे । राजादेखि लिएर सबै ठूलाठूला मान्छेहरु त्यहाँ गएर पढे । दार्जिलिङमा सय वर्षअघि रेल पुग्यो । हामीभन्दा राम्रो अंग्रेजी बोल्छन् त्यहाँका मान्छेहरु ।

गोपाल योञ्जनदेखि अम्मर गुरुङ, इन्द्रबहादुर राईदेखि पारिजातसम्म सब उताकै विद्वानहरु हुन् । तर पनि अहिले उनीहरु किन मरिरहेका छन् ? त्यहाँ ठेला चलाउने मान्छे मरेका छैनन् । सुटेडबुटेड केही बुझेको मान्छे ड्याङड्याङ गोली खाएर मरिरहेका छन्, किन ? यसमा पुँजीवादले व्याख्या गरोस त !

पुुँजीवाद साम्यवादले त खान लाउन भएपछि पुग्छ भन्छ । तर किन मान्छे मर्दैछन् दार्जिलिङमा ? भन्दा पुँजीवाद र साम्यवादले त्यसलाई विश्लेषण गर्न सकेन । उनीहरु अस्तित्वको लागि मरिरहेका छन् । हो, यसलाई संघीय सहअस्तित्ववादले मात्रै विश्लेषण गर्न सक्छ ।

जब रुस र चाइना भर्खरका राष्ट्रहरु थिए । त्यतिखेर उनीहरु आफ्नाे खुट्टामा उभिने कोसिश गर्दै थिए । बेलायत र अमेरिका विकासको चरम चुलीमा पुगेको थियो । आफ्नाे सामान बेच्नका लागि बेलायत र अमेरिकाले के हल्ला फिजायो भने फ्रि मार्केट, ओपेन मार्केट भन्यो । ए चाइना, ए भारत, ए रुस तिमीहरुको ढोका खोल, हाम्रो सामान लैजाऊ, तिमीहरुको सामान पनि लेऊ भन्यो ।

हङकङ र चाइना के आधारमा एकता भयो भने त्यो कुनै पुँजीवाद र साम्यवादको आधारमा हैन । त्यो एउटा सहअस्तित्ववादको आधारमा भयो ।

अमेरिकालाई राम्रोसँग थाहा थियो चाइनाको सामान अमेरिका गए पनि बिक्दैन भनेर । किनभने क्वालिटी पुग्दैनथ्यो । तर पनि ओपेन मार्केट, ओपेन मार्केट भन्यो उसले । पुँजीवादको सबभन्दा ठूलो दर्शन के भयो भने ओपेन मार्केट नै भयो ।
तर जब चाइनाले सामान उत्पादन गर्न थाल्यो । त्यतिबेला फेरि अमेरिकाले भन्न थाल्यो ट्रम्प (डोनाल्ड ट्रम्प, अमेरिकाको वर्तमान राष्ट्रपति)ले क्लोज, क्लोज । चाइनाको सामानमाथि प्रतिबन्ध लगाइयो ।  भनेपछि आफ्नै देश खतम हुन आट्दा त पुँजीवाद पनि हैन रैछ नि । सबभन्दा ठूलो त अस्तित्ववाद रैछ ।
सब विदेशीहरू अमेरिकाबाट भाग भन्दा राष्ट्रपति ट्रम्पका विरोधीहरुले ‘यस्तो कुरा नगरौ, विश्वमा मानवअधिकारवादका कुरा गर्ने अमेरिकाले यसरी अरुलाई भाग भन्न मिल्दैन’ भन्दा ट्रम्पले के भन्यो भने ‘के को इज्जत र बेइजेत, यहाँ देश नै खतम हुन आटिसक्यो । फस्टमा अमेरिका बच्नुपर्छ । अमेरिकाको अस्तित्व ठूलो कुरा हो भन्यो ।’

दोस्रो विश्वयुद्धमा जब हिटलर र जर्मनीले विश्व नै खान आट्दाखेरि पुँजीवादका एकदम कट्टर र साम्यवादका कट्टर नेताहरु बेलायत, अमेरिका र रुस एक ठाउँ भएपछि मात्रै त्यो शक्तिलाई ढाल्न सक्यो । त्यहाँ पनि विचार हैन अस्तित्व नै ठूलो कुरा रैछ ।
अस्ति भर्खरै सम्पूर्ण युरोपियन युनियन बनाउनका लागि बेलायतको ठूलो योगदान रह्यो । तर अन्तिममा बेलायतको नाम नै आउन छोड्यो भनेर बेलायत भाग्यो युनियनबाट । देशको अस्तित्व नै ठूलो कुरो हुदो रैछ त्यहाँ पनि ।

दोस्रो विश्वयुद्धपछि अमेरिका र रुसको एकदम बोलाबोल भएको बेलामा कि रुसको पछि लाग्ने, कि अमेरिकाको पछि लाग्नैपर्दाखेरि विश्वका नेपाललगायत युगोस्लाभिया, चाइना, भारतका टप नेताहरु १९५५ मा इन्डोनेसियाको बानदुङमा र १९६१ मा युगोस्लाभियाको बेलग्रेडमा बसेर अमेरिकातिर पनि नलाग्ने र रुसतिर पनि नलाग्ने असंंलग्न, कतै नलाग्ने, ननएलायन्स र सहअस्तित्वको सिद्धान्त अगाडि बढाउने भनेर बढाए । त्यसकारण अहिले नेपालको आधिकारिक परराष्ट्र नीति के हो ? भन्दा असंलग्नता हो । आधिकारिक परराष्ट्र नीति के हो ? सहअस्तित्ववाद हो ।
अनि भन्ने असंलग्न, यहाँ चाहिँ पुँजीवाद र साम्यवादको झण्डा बोकेर हुन्छ ? देशको नीति छ एउटा । देशको नीति छ सहअस्तित्ववाद । तर यहाँ लिम्बुवान खम्बुवान कसैको अस्तित्व स्वीकार नगर्ने, अनि भारतले पत्याउँछ ? चिनले पत्याउँछ ? हाम्रो विदेश नीति जस्तो छ त्यस्तै हामीले स्वदेश नीति पनि गरौ त, अहिलेको नेपाल ठ्याक्कै एक घण्टामा यो भन्दा ५० गुणा शक्तिशाली हुन्छ यदि हामीले सहअस्तित्ववाद स्वीकार गर्ने हो भने ।

जस्तै १९९७ मा हङकङ चाइनामा मिसिने हुने कुरा भयो । अब हङकङ छ पुँजीवादी, चाइना छ साम्यवादी, के गर्नु ? लडाइँ खेल्नु भएन । त्यसपछि ‘देङ चाओ’ले एउटा नीति ल्याउनुभयो । हङकङ सय वर्षसम्म पुँजीवादीमा रहे पनि हामीले स्वीकार गर्नुपर्छ भनेर उहाँले एक देश दुई नीति ल्याउनुभयो ।
हङकङ र चाइना के आधारमा एकता भयो भने त्यो कुनै पुँजीवाद र साम्यवादको आधारमा हैन । त्यो एउटा सहअस्तित्ववादको आधारमा भयो ।

संघीय समुदायिक समाजवाद
हुन त यस विषयमा धेरै पहिलादेखि बहस चलिरहेको छ । संघीय समाजवादी पार्टी पनि छ । तर त्योभन्दा पहिलादेखि हामीले बहस चलाइरहेको हो । हामीसँग डकुमेन्ट छ ।

स्थानीय चुनावमा काठमाडौंमा हामीले के देख्यौ भने एमालेबाट पनि नेवार, कांग्रेसबाट पनि महिला नेवारले जितेको देख्यौ ।
ताप्लेजुङमा के देख्यौ भने एमालेबाट पनि बाहुन र माओवादीबाट पनि बाहुनले जितेको देख्यौ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा अलगअलग पार्टीबाट भए पनि बाहुनले नै जितेको देख्यौ ।

लिम्बूहरुको त्यस्तो घनावस्ती भएको ठाउँमा बाहुनले जित्यो । केही साथीहरुले यसलाई बठ्याइ ठान्नुहोला । तर युवा पुस्तामा ‘ए यस्तो पो हुँदाे रैछ राजनीति, ठीक छ हेर्दै जाऔ’ भन्ने एक खालको आगो त बल्यो नि ।
त्यसकारण संघीय र समाजवाद आइसकेपछि पनि समुदाय सुरक्षित नहुने रहेछ । त्यसकारण धिमालको ठाउँमा जति नै समिकरण गर्दा पनि धिमाल नै जित्ने, याम्फूकाे ठाउँमा याम्फू जित्ने । एउटा पदमा चाहिँ । नेवारको ठाउँमा नेवार जित्ने तर अरु पनि जित्ने । नेवारले मात्रै जित्नु अनि फेरि नेवारले मात्रै हार्नु पनि राम्रो हैन ।
यदि नेवारहरुले यसो गरे भने अर्को पटक के होला ? सबै गैरनेवारहरुले एउटा समिकरण गर्ला नि त । ताप्लेजुङमा सबै बाहुनहरुले एउटा समिकरण गरिदिए अर्को पटक सबै लिम्बुहरुले फेरि एउटा समिकरण गरिदेला नि त । त्यतिबेला बाहुन त माथिदेखि तलसम्म बढारिन्छ । यो राम्रो चलन हैन । त्यसकारण यसलाई व्यवस्थापन गर्न संघीय सामुदायिक समाजवादको दर्शन चाहिन्छ । हामीले संघीयदेखि सामुदायिकमा फड्को मार्दा समुदायलाई कहिले पनि बिर्र्सनु हुँदैन

 

संघीय इको-इकोनोमी
पूँजीवाद र साम्यवादले भन्छ कि ‘उद्योग खोल उद्योग खोल ।’ आज अमेरिका र चाइनामा विश्वकै सबभन्दा धेरै उद्योगहरु छन् । चाइनाको उद्योगबाट पनि कार्बनडाइअक्साइड सिओटु र अमेरिकाको उद्योगबाट पनि सिओटु उत्पादन भइरहेको छ ।
हामी चाहिँ यहाँ पुँजीवाद र साम्यवाद भन्दै बस्ने तर पुँजीवादबाट निस्केको धुँवा र साम्यवादबाट निस्केको धुँवा दुईटैले पृथ्वी ध्वस्त गरिरहेको छ ।

अमेरिका र चाइना चाहिँ नाफा कमाउँदै खाने अनि त्यसको बेफाइदा हामीले यहाँ भोग्नुपर्ने ? अब यसरी हुँदैन । हामीले यो दुईटा दर्शनलाई च्यालेन्ज गर्नुपर्छ । संघीय इको-इकोनोमी भनेको अमेरिका र चाइनाले कमाएको पैसाको ५० प्रतिशत हामीले पनि पाउनुपर्छ भन्ने विचार हो ।

खासगरी नेपालजस्तो देश । हाम्रो एउटा आशा थियो हिमाल । अहिले हिमाल पग्लिरहेको छ । अरु जम्मै खोला त सुकिगए । आजभन्दा २५ वर्षअघि काठमाडौं कस्तो जिउँदो थियो । प्रत्येक टोलमा ढुंगो धारा थियो । त्यो ढुंगे धारा कसरी बनाइयो भन्ने इन्जिनियरिङ थाहै नपाइकन सधैका लागि मर्यो आदिवासी ज्ञान ।

गाउँमा कुवाहरु सुके । हिमनदीहरु पग्लिदैछन् । के कारणले भन्दा चाइना, अमेरिका र भारतजस्ता ठूला देशहरुको उद्योगबाट निस्केको ग्यासको कारणले । अनि हामी उनीहरुकै दर्शनमा कुदिरहने ? के हामी एउटा नयाँ विचार ल्याउन सक्दैनौ ? के उनीहरुलाई च्यालेन्ज दिन सक्दैनौ ? त्यसकारण हामीले संघीय इको-इकोनोमी भनेका छौं ।

संघीय इको-इकोनोमी भनेको त्यसरी कमाएको नाफा पैसा प्रकृति संरक्षणमा लागू गर्नुपर्छ, खासगरी हाम्रो नेपालजस्तो देशमा भन्ने हो । हामीले अहिले यसबारेमा बहस र छलफल चलाइरहेका छौं । यसमा सबैले राम्रोसँग छलफल र बहस गरौ ।

(संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले गत ३१ भदाैमा काठमाडाैंमा अायाेजित एक कार्यक्रममा व्यक्त गरेका भनार्इलार्इ लेखकाे रूपमा प्रस्तुत गरिएकाे हाे । प्रस्तुतिः विजय चाम्लिङ )

शनिबार, कार्तिक ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार