म्यानचेस्टर सिटीले स्टोकमाथि गोल बर्साउँदा क्रिस्टल प्यालेससँग चेल्सी पराजित

काठमाडौँ । यो सिजन उत्कृष्ट फर्ममा रहेको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग अन्रतगत शनिबार रातिको खेलमा स्टोक सिटीमाथि गोलको बर्षा गरेको छ ।

घरेलु मैदान एत्तिहाद स्टेडियममा स्टोक सिटीलाई स्वागत गरेको पेप ग्वार्डिओला नेतृत्को म्यानचेस्टर सिटीले ७–२ गोलअन्तरको प्रभावशाली जित दर्ता गराएको हो ।

प्रिमियर लिगको आठौँ चरणको खेलमा प्रमुख स्ट्राइकर सर्जियो अग्वेरोबिनाको म्यानचेस्टर सिटीलाई रवाफिलो जित दिलाउने क्रममा अर्का स्ट्राइकर ग्याब्रियल जिुससले २ गोल गर्न सफल भए ।

अन्य पाँच गोल अन्य खेलाडीहरु राहिम स्टर्लिङ, ल्योरी साने, डेभिड सिल्भा, फर्नान्डिन्हो र बेर्नार्डो सिल्भाले गर्न सफल भए । स्टोक सिटीका लागि म्यानचेस्टर सिटीका केइल वाल्करले एक गोल आत्मघाती उपहार दिए भने अर्को गोल स्टोकका डियुफले गर्न सफल भए ।

सिटीले रवाफ देखाउँदा डिफेन्डिङ च्याम्पियन चेल्सी भने यसअघिका सात खेल जित्न नसकेको क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएको छ । चेल्सीलाई हराउने क्रममा वाइलफर्ड जाहले एक गोल गरे भने अर्को गोल चेल्सीले आत्मघाती उपहार दियो ।

शनिबारै राति भएका अन्य खेलमा टोटनह्यामले बोउरेन्माउथलाई १–० ले पराजित गर्यो । त्यसैगरी स्वान्सीले हडर्सफिल्डलाई २–० ले हराउँदा ब्रन्ली र वेस्टह्यामले १–१ गोलको बराबरी खेले ।

प्रिमियर लिग आठौँ राउन्डमा पुग्दा म्यानचेस्टर सिटीले सात खेलमा जित र एक खेलमा बराबरी गर्दै २२ अंकसहित लिगको पहिलो स्थानमा कायमै छ । आठ खेलबाट २० अंक जोडेको सिटीको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ भने ८ खेलबाटै १७ अंक जोडेको टोटनह्याम तेस्रो स्थानमा छ । क्रिस्टल प्यालेससँग हारेको डिफेन्डिङ च्याम्पियन चेल्सी भने ८ खेलबाट १३ अंकसहित लिगको चौथो स्थानमा छ ।

शनिबार, अशोज २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार