सीमा रक्षक यादवद्वारा भारतीय राजदुतलाई भेट्न अस्वीकार

काठमाडौं, २७ असोज– सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादवले भारतीय राजदुत मञ्जिवसिंह पुरीलाई भेट्न अस्विकार गर्नुभएको छ । भारतीय सरकारको गैर कानुनी थुनाबाट तारेखमा मुक्त हुनुभएका यादवलाई भेटका लागि राजदुत पुरीले खवर पठाउनु भएको थियो ।

‘मलाई भारतीय राजदुतले भेट्न खवर पठाउनु भएको छ । तर मलाई भेट्न मन छैन’ उहाँले शुक्रबार अपरान्ह नेपाल बार हलमा नागरिक समाजका केही अगुवासँग भन्नुभयो ।

तिलाठी काण्डपछि चर्चित भएका यादवलाइ अपहरणको मुद्धा लगाएर भारतीय सुरक्षाकर्मीले तीन साताअघि पक्राउ गरी थुनेको थियो । भारतीय कारागारबाट तारेखमा छुटेर नेपाल फर्केपछि उहाँ काठमाडौं आएर एमाले प्रवेश गर्नुभएको थियो । उहाँलाई बिहिबार एमाले संसदीय दलको कार्यलयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको थियो ।

हिरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुँगेल, शम्भु थापा, टिकाराम भट्टराई लगायतको पहलमा बार हलमा भएको भेटमा यादवले आफूलाई सीमा रक्षाको ईबी साँध्न पक्राउ गरिएको बताउनुभयो । यादवलाई स्वागत गर्दै बरिष्ठ अधिबक्ता थापाले भारतीय अदालतमा गएरै सहयोग गर्न तयार रहेको बताउनुभयो । गतबर्ष भदौमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँध भत्काउँदा यादवलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरी घाइते बनाएका थिए ।

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार