गिरिजाले भने – ज्ञानेन्द्र व्यापारी हुन्, बदमास छन्,उनलाई नाफा चाहिन्छ राजसंस्थाको वास्ता छैन

त्यसै पनि शान्ति सम्झौताले राष्ट्रिय सेनालाई पाता फर्काउन खोजेको थियो। माओवादीहरू ‘लडाकुजस्तै सेना पनि ब्यारेकमा थन्किएर बस्नुपर्ने’ जिकिर गर्थे। द्वैध चरित्रवाला कथित बुद्विजीवी सही थाप्थे। राष्ट्रिय सेनालाई ब्यारेकमा थन्क्याएपछि मनपरि गर्न पाइन्छ भन्ने माओवादी मनसाय बुझिन्थ्यो।

राष्ट्रिय सेना सबैको साझा शक्ति र सम्पत्ति हो– शान्ति सम्झौतामा सही गर्ने नेताहरूले बिर्सिएको तथ्य हो यो। माओवादीले शिविरमा डमी लडाकु राखेका थिए। वास्तविक लडाकु त वाइसिएलको आवरणमा बाहिर थिए। उनीहरूसँग हतियार पनि थियो। इयान मार्टिनलगायतले सबै छुट दिएका थिए। माओवादी अरूलाई ब्यारेकका सेना र लडाकुको मनोवैज्ञानिक त्रास देखाउन चाहन्थ्यो। माओवादी लडाकुले जनता कुट्न, पिट्न, धम्क्याउन, तर्साउन पाइरहेकै थिए।

चुनावपछि मात्र सेना समायोजन गर्नेमा माओवादी र प्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाको स्वार्थ मिलेको थियो। खासमा माओवादी लडाकु समायोजन गरेपछि मात्र चुनाव गर्नुपर्थ्यो। त्यसो गर्दा सेनाले राजाको पक्ष लिन्छ र गणतन्त्र आउँदैन भन्ने हाउगुजी कांग्रेस, एमाले नेताको थियो। त्यही भ्रम छरेर माओवादीले राम्ररी फाइदा उठाए।

लडाकुको मनोवैज्ञानिक त्रास, हतियार, वाइसिएलसहित चुनावमा जाँदा माओवादीलाई सजिलो पर्थ्यो। यस्तो अवस्थामा प्रहरीले मात्र भयमुक्त चुनाव गराउन सक्ने अवस्था थिएन, सेना परिचालन आवश्यक थियो। नेपालको हरेक चुनावमा सेना परिचालन भएको छ। कुनैमा पनि पक्षपात बात लागेको छैन।

माओवादीले शान्ति सम्झौताको बखेडा झिकेकाले सेना परिचालन नहुने भयो।
म्यादी प्रहरी भर्ना खुल्यो। गृहमन्त्री सिटौला र माओवादीको आन्द्रा जोडिएको थियो। म्यादीमा कतिपय लडाकु छिरे। माओवादी कार्यकर्ताको व्यापक घुसपैठ भयो।
यी सबै तथ्यसहित सेनाले प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गर्यो। उहाँले गृहमन्त्रीलाई देखाउनुभयो। सिटौलाले शान्ति सम्झौताका बुँदा तेर्स्याइदिनुभयो।
चुनावको दुई दिनअघि प्रधानमन्त्रीले मलाई डाक्नुभयो। म गएँ। रक्षा सल्लाहकार पनि हुनुहुन्थ्यो।
‘अझै समय छ, सेना निकाल्नोस्,’ मैले भनेँ।
‘त्यसो नगरौं माओवादीले मान्दैनन्, चुनाव नै भाँडिन्छ,’ उहाँले भन्नुभयो, ‘युएन, अमेरिका, इन्डिया, इयु सबैले चुनाव चाहेका छन्।’
‘चुनाव नगरौं कहाँ भनेको छु, पाँच महिना सार्दिनुस्,’ मैले भनेँ, ‘माओवादीले सार्न मिल्छ, तपाईंहरूले मिल्दैन?’
चुनाव निष्पक्ष नहुने निश्चित थियो। सबै पार्टी निशस्त्र थिए। एउटा पार्टीले भने हतियार नै बोकेर चुनाव लड्ने छुट पाएको थियो।

सेनाको आन्तरिक रिपोर्टअनुसार माओवादीले चुनावमा व्यापक धाँधली प्रयास गरिरहेेको थियो। देखिने गरी रक्तपात नगर्ने, तर मनोवैज्ञानिक त्रास फैलाउने उसको रणनीति थियो। मतदान केन्द्र शान्तिपूर्ण तरिकाले कब्जा गर्ने तयारी थियो। अघिपछि जस्तो हप्किदप्की नगर्ने, नम्र भाषामा धम्क्याएर अघोषित बुथ क्याप्चर गर्ने माओवादी रणनीति थियो।
एमालेको भोट माओवादीले काट्छ, सजिलै ठूलो पार्टी बनिन्छ भन्ने च्याँखे दाउमा केही कांग्रेसी रमाएका थिए। विभिन्न मत सर्वेक्षणले १ नम्बर पार्टी हुने देखायो भन्दै एमाले त्यत्तिकै फुरुंग। गृह मन्त्रालयले प्रधानमन्त्रीलाई जस्तो चित्त बुझ्छ त्यस्तै रिपोर्ट बुझाइदिएको थियो।

कांग्रेस बहुमतसहित सजिलै ठूलो पार्टी हुन्छ, प्रत्यक्ष निर्वाचनमा २ सय ४० क्षेत्रमध्ये कांग्रेसको कम्तीमा १ सय ४० सिट आउँछ भन्ने गृहको रिपोर्ट रहेछ। मलाई भने माओवादीले गर्ने मौन धाँधलीको पूरापूर अनुमान थियो।
‘अझै पनि समय छ, चुनाव सारौं,’ मैले फेरि भनेँ।
‘प्रत्यक्षमै कांग्रेसको कम्तीमा १ सय ४० सिट आउँछ भन्ने रिपोर्ट छ,’ गृहले दिएको चिर्कटो देखाउँदै प्रधानमन्त्रीले भन्नुभयो।
‘२ सय ४० मा ४० सिट आए गनिमत,’ मैले भनेँ।
‘कसरी यस्तो हुन सक्छ?’ गिरिजाबाबुले अचम्म मान्नुभयो।
‘माओवादी गाउँ–गाउँमा हतियार लिएर बसेका छन्,’ मैले सेनाको धारणा व्यक्त गरेँ, ‘चिहानमा पुरिएका, आर्यघाटमा जलाइएका, दुबई, मलेसिया गएका सबैको भोट खस्नेवाला छ।’
रक्षा सल्लाहकार भएकै ठाउँ मैले भनेँ, ‘हेर्दै जानुस् कति ठाउँमा हन्ड्रेड पर्सेन्ट भोट खस्छ।’
गिरिजाबाबु बल्ल गम्भीर हुनुभयो, केही बोल्नुभएन।
‘सहर/बजारमा केही नहोला, गाउँ–गाउँमा कांग्रेस, एमाले कार्यकर्ता निसाना बनेका छन्। कतिपय मतदान केन्द्रमा अरू दलका प्रतिनिधि बस्न नदिने योजना बनेको छ,’ मैले प्रधानमन्त्रीलाई जानकारी गराएँ, ‘माओवादीले रूख र सूर्यको ब्याच लगाइदिएर आफ्नै कार्यकर्तालाई बुथ प्रतिनिधि राख्दै छन्, कसलाई भोट खसालेको हो, मोबाइलबाट थाहा हुन्छ भनेर तर्साइरहेका छन्।’
‘त्यस्तो नहोला,’ गिरिजाबाबुले भन्नुभयो, ‘इयु र भारतले पनि कांग्रेसको कम्तीमा १ सय १८ सिट भनेका छन्।’
मैले उहाँलाई लगातार सम्झाइरहेँ।
‘मतदाताले निष्पक्ष र स्वतन्त्र ढंगले मत खसाल्न पाउने माहोल नबनेकाले चुनाव स्थगित गरिएको घोषणा गर्नुस्,’ भनेँ, ‘अझै पनि मौका छ।’
‘माओवादीले अलिअलि बल प्रयोग गरे पनि रिजल्ट स्विप गर्न सक्दैनन्,’ उहाँ ढुक्क हुनुहुन्थ्यो।
मैले सेनाको विश्लेषण सुनाएँ, ‘माओवादीले हतियार र क्यान्टोनमेन्टका लडाकु देखाएरै सामान्य जनताको भोट कब्जा गर्छन्, त्रासले काम नगरे मात्र भौतिक आक्रमणमा उत्रिने योजना छ।’
मैले हरेक साता देशभरि कुदेको आधारमा उहाँलाई गरेको रिपोर्टको सुनुवाइ भएन।
‘चुनाव हुन दिऊँ चिफसाप,’ गिरिजाबाबुले कुरा टुंग्याइदिनुभयो, ‘दे ह्याभ टु बी इमप्रिजन्ड इन द डेमोक्रेटिक प्रिजन।’
(माओवादीलाई जसरी भए पनि संसदीय प्रजातान्त्रिक पद्धतिभित्र ल्याउनुपर्छ।)
मैले त्यसअघि पनि माओवादीलाई साइजमा राख्न चुनावी कार्यक्रममा जान कोइरालासँग आग्रह गरेको थिएँ। उहाँ भने चुनावी कार्यक्रममा सहभागी नहुने भनेर बस्नुभएको थियो।
‘सेनाको हेलिकप्टरमा पाँचै विकास क्षेत्रमा भाषण गर्न जानुस्,’ मैले भनेँ, ‘म सेनाको हेलिकप्टरमा पठाइदिन्छु, ब्यारेकमा अरू सबै व्यवस्था मिलाइदिन्छु।’
‘म न्युट्रल हुनुपर्छ, जान्नँ,’ उहाँले भन्नुभयो।

‘प्रधानमन्त्रीज्यु, कांग्रेसलाई भोट नमाग्नुस,’ मैले अर्को प्रस्ताव राखेँ, ‘जनतालाई निर्धक्क भएर भोट हाल्नू भनेर मात्र फर्किनुस्।’
यसबारे केही कांग्रेसी नेतामार्फत पनि गिरिजाबाबुलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेँ। उहाँले मञ्चमा उभिएर कांग्रेसलाई भोट किन माग्नुपर्योग! प्रजातन्त्र, समाजवाद, उदारवाद र स्वतन्त्र चुनावको कुरा मात्र गरे भइहाल्यो नि भन्ने मेरो सुझाव थियो। यसले प्रजातान्त्रिक दलका कार्यकर्ताको मनोबल अलिकति भए पनि बढ्छ भन्ने मेरो स्वार्थ हो।
‘राष्ट्रप्रमुखको भूमिकामा मै छु,’ उहाँले फेरि मान्नुभएन, ‘नैतिकताको पनि प्रश्न हुन्छ।’

कार्यवाहक राष्ट्रप्रमुख कांग्रेस सभापति भइरहन हुने! टिकट बाँड्न हुने! कांग्रेसका लागि पैसा जम्मा गर्न हुने! तर, भाषण गर्न नहुने तर्कमा म कन्भिन्स थिइनँ। यो त लुकेर चोरीचकारी गर्न हुन्छ, तर साधु देखिनुपर्छ भनेजस्तो भयो। उहाँ पार्टी कोषबारे असाध्यै चिन्तित हुनुहुन्थ्यो। मैसँग कैयौंपटक ‘फन्ड नै छैन, चिफसाप’ भन्नुभएको थियो।
कामचलाउ राष्ट्रप्रमुख तटस्थ हुनुपर्छ भन्ने उहाँको तर्क भावी राष्ट्रपतिको मनोकांक्षाले उब्जाएको सबैले बुझ्ेका थिए। गिरिजाबाबु गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने लोभमा फस्नुभयो। प्रचण्ड भने उहाँलाई भावी राष्ट्रपतिको त्यही ललिपप देखाएर कांग्रेस, एमाले भकुरेको भकुर्यैभ हुनुहुन्थ्यो।

जेठ १५ अघि राजतन्त्र जोगाउन मैले जति प्रयास सायदै कसैले गर्योभ। नेपालको भौगोलिक अवस्था, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक सामाजिक संरचनालाई मध्यनजर गर्दा सम्पूर्ण नेपालीले आदर गर्ने कुनै न कुनै प्रकारको राजतन्त्र चाहिन्छ भनेर महिनौं कोसिस गरँे। प्रधानमन्त्री कोइरालालाई कन्भिन्स गरँे। माओवादी अध्यक्ष प्रचण्डसहित अरू नेतासँग पनि यस विषयमा धेरै कुरा गरेँ।
‘हो, राजतन्त्र नेपालको वास्तविकता हो,’ प्रचण्डले भन्नुभएको पनि हो, ‘कुनै न कुनै किसिमको (राजतन्त्र) रहोस् भन्नेमा हामी पनि छौं।’
राजाबाट भएका कमी–कमजोरी सुधार्ने हो भने जनताको सद्भाव बढ्दै जान्छ भन्ने माओवादी नेताको भनाइ हुन्थ्यो।
‘राजतन्त्रप्रति सकारात्मक वातावरण बनोस्,’ प्रचण्ड भन्नुहुन्थ्यो, ‘अनि हाम्रा वाइसिएल, युवा, विद्यार्थीलाई मनाउन सजिलो हुन्छ।’
राजाबाट त्याग प्रदर्शन भए जनताको मन फर्किने मलाई आश थियो। त्यसका लागि ज्ञानेन्द्रलाई ‘धन प्यारो छ’ भन्ने जनमानसमा परेको छाप मेट्न जरुरी थियो।
त्यो कसरी सम्भव छ? एउटा आइडिया आयो।

राजा ज्ञानेन्द्रले दाजुभाउजूको सम्पत्ति खोजी गर्न आयोग माग्ने। सम्पत्ति सार्वजनिक गरिदिने। त्यसका लागि भएमा आफ्नै १०/२० करोड थपेर ट्रस्ट बनाउने। प्रधानमन्त्रीलाई त्यसको अध्यक्ष बनाउने।

प्रधानमन्त्री कोइरालालाई बीचमा राखी दायाँ–बायाँ बसेर बाबु (ज्ञानेन्द्र) र छोरा (पारस) ले घोषणा गरून्– हामीलाई नागार्जुन, गोकर्ण, नारायणहिटी, दियालो बंगला, रत्न मन्दिर चाहिँदैन। नेपाल र नेपाली चाहिन्छ। प्रजातात्रिक पद्धति चाहिन्छ।
पाँचै विकास क्षेत्रमा अनाथालय, अस्पताल, महाविद्यालय, वृद्वाश्रम खोलेर त्यो पैसा सदुपयोग गरियोस्। यति भयो भने नेपाली जनताले राजतन्त्रलाई अबिरे जात्रा गरेर स्वागत गर्छन्।
मलाई राजतन्त्र जोगाउने यो सरल, तर अचुक उपाय लाग्यो। राजाका एडिसीहरू विजयविक्रम खड्का र विनोज बस्नेत दुवैलाई भनेँ।
‘एकदमै राम्रो,’ दुवैले मलाई आश्वासन दिए, ‘हामी बिन्ती टक्र्याइहाल्छौं हजुर।’
उनीहरूबाट यति आश्वासन पाएपछि राजालाई यो घोषणा गर्ने वातावरण बनोस् भनेर गिरिजाबाबुलाई मनाउनतिर लागेँ। धेरै जोडबलपछि उहाँ ‘सेरेमोनियल किङ’ चाहिन्छ भन्नेमा राजी हुनुभयो।

दरबारबाट केही प्रतिक्रिया आएन। मैले एडिसीहरूसँग जान्न खोजेँ। कुरा हुँदै छ भनेर विनोजले जानकारी गराए। तर, केही कुरा आएन।
करिब दुई महिना भइसकेको थियो।
एक दिन राति प्रधानमन्त्रीले मलाई बालुवाटार डाक्नुभयो। नराम्ररी हकार्नुभयो।
‘खोइ, सबै कुरा मिलाउँछु भन्नुभएको हैन, केही आयो त? ती व्यापारीले च्यारिटी खोल्लान्?’
‘ज्ञानेन्द्र व्यापारी हुन्, बदमास छन्,’ उहाँ आगो हुनुभयो, ‘उनलाई नाफा चाहिन्छ राजसंस्थाको वास्ता छैन।’
गिरिजाबाबुको मन भाँचिएपछि अरू पार्टीले राजा ज्ञानेन्द्रलाई स्पेस दिन सम्भव नै थिएन।
ज्ञानेन्द्र नभए पनि राजतन्त्र निरन्तरताका लागि गिरिजाबाबुलाई मनाउने अन्तिम प्रयास गरेँ। ‘बेबी किङ’ पो गराउन सकिन्छ कि! म लागिपरेँ।
जनमानसमा राजा ज्ञानेन्द्र र युवराज पारससँग ठूलो आक्रोश थियो। राजसंस्थाको प्रतिनिधित्व नवयुवराज हृदयेन्द्रबाट पनि गराउन सकिन्थ्यो। संसदले राजगद्दी उत्तराधिकारीसम्बन्धी कानुन संशोधन गरेर छोरी पनि ‘राजा’ हुन पाउने निर्णय गरिसकेको थियो। दिवंगत राजा वीरेन्द्रकी नातिनी (श्रुतिकी छोरी) हरूलाई बनाउन सकिन्थ्यो कि!
गिरिजाबाबुसँग कुरा राखेँ।
‘हुँदै हुन्न,’ उहाँ कड्किनुभयो।
मैले जानेको तर्क गरेँ। रुखो स्वर गरेँ। कहिले नरम भएँ। उहाँलाई राजी गराएरै छाडेँ।
‘यहाँ बोल्यो भने माओवादीले भड्काउन सक्छन्, विराटनगरमा बोलेर टेस्ट गर्छु,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईं दरबारतिर कुरा मिलाउनुस्।’
मैले यसबारे एडिसीहरूसँग कुरा गरेँ। राजतन्त्र जोगाउने त्यान्द्रो यही हो भनेर राजालाई बुझाउन भनँे।
त्यसको दुई/चार दिनमै गिरिजाबाबुले विराटनगरमा बेबी किङबारे बोल्नुभयो।
त्यसको एक/दुई दिनमा एडिसी विजयविक्रमले मसँग समय मागे। नारायणहिटी पोजेटिभ भएको ठानेर म रमाएँ पनि। राजतन्त्र जोगाउन सके मुलुक, प्रजातन्त्र र नेपाली जनता सबैको भलो हुन्थ्यो, मेरो मिसन यही थियो।
‘तपार्इंले सेरिमोनियल वा बेबी किङबारे बोल्न जरुरी छैन,’ विजयले ज्ञानेन्द्रको निकै रुखो सन्देश सुनाए।
अब तर्क–वितर्क, दगलफसल गरेर काम थिएन।
मैले फेरि प्रधानमन्त्रीको हप्की खाने निश्चित थियो।

यत्ति हुँदा पनि मैले आफ्नो तर्फबाट प्रयास छाडिनँ। फाइनल प्रयासस्वरूप राजाका नातेदार एवं मित्र प्रभाकरशमशेरलाई शशिभवनमा डिनर डाकेँ। हामीले तीन घन्टा विचार–विमर्श गर्यौंि। ट्रस्ट, सेरेमोनियल, बेबी किङ सबै प्रसंगबारे कुरा भयो।
‘महाराजाधिराजलाई यो सम्झाइदिऊँ,’ प्रभाकरलाई अनुनय गरेँ, ‘ज्ञानेन्द्र सरकारको ठाउँमा नाति हुन्छ। चलाउने उहाँले नै हो। के फरक पर्छ र!’
ज्ञानेन्द्र सरकार स्वयंले तीन वर्षमा राज्यारोहण गरेको प्रसंग स्मरण गराएँ। अरू तर्क पनि दिएँ।
‘चिफसाप, आई क्यान नट टेल हिम द वे यु वान्ट मी टु टेल हिम, ह्वाट आई क्यान टेल हिम इज वी मस्ट ह्याभ कन्टिन्जेन्सी,’ प्रभाकरले आश्वस्त पार्नुभयो।
(सरकारलाई म त्यसरी भन्न सक्दिनँ, जसरी तपाईं मैले भनोस् भन्ने चाहनुहुन्छ। म उहाँलाई हामीले केही न केही वैकल्पिक बाटो खोज्नैपर्यो् भन्न सक्छु।)
पर्सिपल्ट उहाँको फोन आयो।
‘जाहेर भयो सर?’ मैले सोधेँ, ‘के हुकुम भयो त?’
राजाले प्रभाकरको कुरा सुनेर खासै जवाफ दिनुभएनछ। चिफसापलाई के जवाफ लैजाऊँ त भनेर सोधेपछि यस्तो उत्तर आएछ, ‘टेल हिम आई ह्याभ हर्ड यु।’
(उनलाई भन्देऊ, मैले तिम्रो कुरा सुनेँ।)

प्रभाकरशमशेरले राजाको हुकुम जस्ताको तस्तै सुनाउनुभयो। मैले राजतन्त्र जोगाउन गरेको प्रयासबारे जानकारी पाएपछि पनि दरबार लचिलो देखिएन। जनताको परिवर्तनको चाहना र विश्व परिस्थितिअनुसार परिमार्जित हुँदै जानुको साटो दरबारमा सक्रिय राजतन्त्रमै फर्कन सकिन्छ कि भन्ने धङधङी देखियो।
बेबी किङबारे राजा ज्ञानेन्द्रको भनाइ भनेर दरबारियाले यस्तो पनि सुनाए– बेबी किङ विल बी ओभर माई डेड बडी।
(बेबी किङ मेरो लासमाथि मात्र सम्भव छ।)

ज्ञानेन्द्रले बेबी किङ किन मान्नुभएन भन्नेमा राजपरिवार निकट केही सम्भ्रान्तको आफ्नै विश्लेषण छ– बेबी किङ भन्नु दाजु वीरेन्द्रको वंशजलाई बुझाउनु हो वा नाति हृदयेन्द्रको शासन हो। हृदयेन्द्रलाई शासनमा ल्याउनु हिमानीमार्फत भारतीयकरणको निम्ति बाटो बनाइदिनु हो।
राजसंस्थाका लागि नेपाली सेनाले प्रयास गर्न सक्ने अवस्था अब थिएन। प्रधानमन्त्रीले राजसंस्थाबारे सोच्न छाड्नुभयो। त्यही मौकामा माओवादीले गिरिजाबाबुलाई मुलुकको पहिलो राष्ट्रपति बनाइदिने लोभ देखायो।

गिरिजाबाबुलाई कुनै न कुनै स्वरूपको राजसंस्थामा कन्भिन्स गर्न सकियोस् भनेर म बिपीका लेख, रचना, भाषणका कुरा उप्काइरहन्थेँ।
त्यसपछि भने उहाँको ‘ब्रेन वास’ गर्ने प्रयत्न छाडेँ।
मैले राजा र गिरिजाबाबुको सम्बन्ध राम्रो पार्न पनि यावत कोसिस गरेको थिएँ। गिरिजाबाबु भर्ना भएर अस्पतालमा बस्नुभएको थियो।
‘राजा, रानी, युवराज तीनै जनालाई फूल बोकेर अस्पताल भेट्न जान बिन्ती गर यार,’ मैले एडिसीहरूलाई भनेँ, ‘मानवीय व्यवहारले जनताको मन उल्टिन्छ।’
‘प्रोटोकलले मिल्दैन,’ दरबारबाट खबर आयो।
‘बालक, महिला, वृद्व, बिरामीसँग पनि भुत्रो प्रोटोकल!’ म एडिसीहरूसँग झोक्किएँ, ‘त्यति पनि कन्भिन्स गर्न सक्दैनौ!’

-नागरिकन्युजबाट

बिहिबार, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार