यस्तो बन्यो नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, कहिलेबाट होला त अन्तर्राष्ट्रिय उडान ?

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो सम्झौताअनुसार जुन २०१८ सम्म पहिलो चरणको काम पूरा भइसक्नुपर्छ । तर, बुधबार व्यवस्थापिका संसद्, सार्वजनिक लेखा समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अहिलेसम्म केवल ३० प्रतिशत मात्र प्रगति भएको छ । अर्थात् निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्ने हो भने अबको ८ महिनाभित्र ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने हुन्छ । जुन असम्भव रहेको मन्त्रालय, प्राधिकरण र आयोजनाका जिम्मेवार अधिकारी स्वीकार गर्छन् ।

चीनको नर्थवेस्ट कम्पनीले प्रारम्भमा डिसेम्बर २०१७ सम्म विमानस्थलको पहिलो चरणको काम पूरा गर्ने गरी ठेक्का पाएको थियो । वैशाख २०७२ को भूकम्प र लगत्तै भारतको नाकाबन्दीले काम प्रभावित भएको भन्दै आयोजनाको अवधि ६ महिना थप गरी जुन २०१८ सम्म पु¥याइएको हो । यो आयोजना निर्माणको काम १५ जनवरी २०१५ बाट सुरु भएको हो । आजको नयाँ पत्रिकामा खबर छ

मुख्य समस्या जहाँको तहीँ

आयोजनाको मुख्य ठेकेदार कम्पनी र स्थानीय सप्लायर्स कम्पनीबीचको विवादप्रति मन्त्रालय, प्राधिकरण र आयोजना प्रमुख पन्छिदै आएका छन् । यी निकायले आफूले स्थानीय सप्लायर्स कम्पनीलाई नचिन्ने भन्दै यसको समाधान ठेकेदार कम्पनी आफैँले गर्नुपर्ने बताउँदै आएका छन् । आर्थिक लेनदेनको विवाद बल्झिदै गए पनि समस्या समाधानमा नेतृत्व गम्भीर नभएपछि आयोजनाको काम प्रभावित भइरहेको छ । यसबाहेक नदीजन्य सामग्री, माटो र अन्य कच्चा पदार्थको अभाव, नेपाल विद्युत् प्राधिकरणले डेलिकेटेड फिडर जडानमा गरेको ढिलासुस्तीजस्ता समस्या कायम नै रहेको आयोजना प्रमुख शर्माले उल्लेख गरे ।

के छ पछिल्लो अपडेट ?

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार मन्त्रालयको चेतावनीपछि नर्थवेस्ट कम्पनीले आयोजनाको नेतृत्व परिवर्तन गरेको छ । कतिपय उपकरण साइटमा ल्याइसकेको छ भने कतिपय चीनबाट आउनेक्रममा छन् । कामदारको संख्या पनि बढाएका कारण पछिल्लो समय आशालाग्दो काम भइरहेको उनले जानकारी दिए ।

किन गति लिन सकेन आयोजनाले ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार निर्माण प्रारम्भिक समयमा उत्साहप्रद रूपमा काम भएको थियो । तर, चिनियाँ निर्माण कम्पनी र उसले स्थानीय स्तरमा नियुक्त गरेको सप्लायर्स कम्पनीबीचको लेनदेन विवादले आयोजनाको काम ठप्प हुन पुग्यो । यसको प्रभाव अहिलेसम्म कायम छ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवका अनुसार स्थानीय सप्लायर्स कम्पनीले ठेकेदार कम्पनीका उपकरण लुट्ने र कब्जामा लिने काम ग¥यो । यसलाई मन्त्रालय, प्राधिकरण तथा आयोजना प्रमुखले समयमै समन्वय गरी समस्या समाधान गर्न सकेनन् । जसको सिकार आयोजना बन्न पुगेको छ । आयोजनाप्रमुख ओम शर्माका अनुसार फागुन २०७३ बाट ठप्प भएको निर्माणको कामले अहिले पनि गति लिन सकेको छैन ।

मन्त्रालय नेतृत्वप्रति सांसदहरूको कडा आलोचना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीय सप्लायर्स कम्पनीसँग मिलेमतोमा चिनियाँ ठेकेदार कम्पनीलाई मात्र दोष देखाई काम ढिला गराउन मन्त्रालय र प्राधिकरणका अधिकारीहरू नै लागेको भन्दै समितिमा सांसदहरूले कडा आलोचना गरेका छन् । सांसद विकास लम्सालले काम रोकिएको लामो समयसम्म पनि समस्या समाधानमा सक्रिय नहुने पर्यटन मन्त्रालय र प्राधिकरणको भूमिका शंकास्पद रहेको बताए । अर्का सांसद रामहरि खतिवडाले आयोजना प्रमुख नै स्थानीय कम्पनीसँग मिलेमतो गरी आयोजनाको काम लम्ब्याउन र आर्थिक अनियमिततामा लागेको आरोप लगाए ।

बिहिबार, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार