एमालेलाई सहयोग गरे देश जोगिन्छ भनेर एमाले प्रवेश गरेँ

नेपाली सीमा रक्षक देवनारायण यादव बिहीवार एमाले प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट सप्तरी जिविस सदस्य समेत निर्वाचित भइसक्नु भएका यादव सीमा क्षेत्रमा भारतले बनाएका अवैध संरचना भत्काउने क्रममा भारतीय सुरक्षाकर्मीबाट यातना भोग्ने नेपाली हुनुहुन्छ । बिहीवार एमाले संसदीय दलको कार्यालयमा यादव एमाले प्रवेश गरेपछि उहाँसँग चक्रपथ डटकमका तर्फबाट बिनु पोखरेलले गरेको कुराकानीः 

तपाईं एमालेमा प्रवेश गर्नु भएछ,  किन एमाले प्रवेश गर्न लाग्नुभयो ? 
हामी भारतीय सीमा क्षेत्रमा बस्ने नेपाली सधैं भारतको हेपाइबाट पीडित छौं । यो आजको मात्र कुरा होइन,  हामी त्यहाँ पचासौं बर्षदेखि भारतको हेपाह प्रबृत्तिसँग जुधिरहेका छौं । गतवर्ष भारतीय पक्षले अबैध बाँध बाँधेर हाम्रो जमिन डुबाउन लागेका बेला हामीले प्रतिवाद गर्यौं । तर, हाम्रो पक्षमा साथ दिने नेपाली नेता भएन । एमालेका नेताहरु त्यो त्यहीँ गएर मलाई भेटे । मलाई लाग्यो यो देशको लागि एमालेसँग योजना छन्, एमाले दशभक्त छ । चाहे सिमानाको कुरा होस् वा देशमा विकासका योजनाको कुरा होस्, त्यो मैले एमालेसँग देखेँ, त्यसैले म एमाले प्रवेश गरेँ ।

पार्टी भन्दा पहिला आफ्नो बास या देश हो । सीमानामा हाम्रो घरबास डुब्दा हामी सबैलाई एमालेको भूमिका र साथ सकारात्मक लाग्यो । यो चुनावमा हामी सबै मिलेर यो देशप्रेमी एमालेलाई जिताउन लाग्छौं । 

पहिला कुन पार्टीमा हुनुहुथ्यो ? 
हिजोसम्म म कांग्रेस पार्टीमा थिएँ । आजबाट होइन, मैले थाहा पाउँदा देखि नै म कांग्रेसको कार्यकर्ता हुँ । २०४९ सालको स्थानीय निर्वाचनमा म कांग्रेसको तर्फबाट सिविस सदस्य निर्वाचित भएको हुँ । गाउँमा म पार्टीगत रुपमा कांग्रेसमा गनिने मान्छे हुँ ।

चुनावको मुखमा कांग्रेस छोडेर एमाले प्रवेश गर्नुको कारण चुनावको टिकटका लागि त होइन ?  
म हिजो कांग्रेस पार्टीमा त थिएँ । जुन पार्टीमा बसेर भए पनि मैले सीमा रक्षाको लागि काम गरेँ । मेरो त्यो काम मेरो पार्टी कांग्रेसलाई काम भन्दा पनि नकाम भयो । हामी सिमानामा डुब्दै थियौं । त्यति मात्र हैन छिमेकीले हामीलाई डुवाएर पनि माथिबाट डन्ठा भाला बर्साउँदै थियो । हामी कति घाइते थियौं । तर न जिल्लाका नेता, न त केन्द्रका नेता हामीलाई हात दिन आउनुभयो । अहिले मात्र हैन सधैं यस्तै हुन्छ । अनि एमालेका जिल्ला देखि केन्द्रसम्मका नेता तथा कर्यकर्ता नै हामीलाई सहयोग र साथ दिन आउनु भयो । कति धेरै घाइते भयौं । एमालेकै नेताहरुले उपचार गराउनु भयो । यतिसम्म कि म त्यति धेरै बिमारी भएर टाउको फुटेर काठमाडौंमा अस्पतालमा रहंदा एमालेका सबै नेताहरु मेरो हात समाउन आउनुभयो । केही नेताले त सिमानामा तपाईं हुनुहुन्छ र हाम्रो देश बचेको छ भन्नुभयो  । के पर्छ हामीलाई खबर गर्नुस् भन्नुभयो । हाम्रो गाउँमै गएर कति दिन हाम्रो साथ रहनु भयो । तर कांग्रेसको अर्जुननरसिंह केसी बाहेक कोही नेता आउनु भएन । अन्य पार्टीको त कुरै नगरौं । अनि हामीलाई त हाम्रो बास हाम्रो देश भन्दा ठूलो पार्टी लागेन । अनि देशको सिमाना बचाउन एमालेमा प्रवेश गरेको हुँ । टिकट विकट पाउनको लागि होइन ।

तपाईं सिमानामा त्यसरी लड्नु भयो, अहिले कस्तो छ त्यहाँको अवस्था ? 
के कुरा गरांै, त्यहाँ त हामी एक्लै भए झै लाग्छ । किनकि हामी थोरै हुन्छौं उनीहरु धेरै हुन्छन् । त्यसैले हामीलाई हरपल साथ चाहिन्छ । पोहोर मात्र हैन, बर्षाैंदेखि बनाएको बाँधका कारण हरेक बर्ष हामी डुबीरहेका छौं । अनि फेरि त्यहिमाथि हामी नै कुटिन्छौ, हामी नै मारिएका छौं थोरै पीडा छ र ?

तपाईंलाई भारतीय सुरक्षकर्मीले पक्रियो, के कारण थियो ? 
म आफ्नै कामले भारत गएको थिएँ । हिजो हामीसँग सिमानामा लडेको भारतीय असई त्यहि ठानामा रहेछ । अनि त्यहि रिसइबीले मलाई त्यसले त्यहाँ थुनेको थियो ।

मलाई थुनामा राख्दा भतिजहरु मलाई खानेकुरा लिएर जान्थे । त्यहिबेला उनीहरुले सुनाएका थिए कि तपाईंको रिहाइको लागि जनता सडकमा छ । मेरो त खुसीले आँशु झरेको थियो ।

तपाईं मात्र एमाले प्रवेश गर्नु भएको कि अरु पनि हुनुहुन्छ ? 
अहिले हतार भयो, म एक्लै आएको छु । तर पछि सिंगै संगठन आउँछ । हामी आज मात्र हैन, हिजै देखि त्यहाँ लडेका छौं । २०४९ साल देखि गाउँ बचाउने अभियानमा लागेका सबै आउनुहुन्छ । सबैलाई मलाई जे भयो त्यहि भएको छ । किनकि पार्टी भन्दा पहिला आफ्नो बास या देश हो । सीमानामा हाम्रो घरबास डुब्दा हामी सबैलाई एमालेको भूमिका र साथ सकारात्मक लाग्यो । यो चुनावमा हामी सबै मिलेर यो देशपे्रमी एमालेलाई जिताउन लाग्छौं ।

बिहिबार, अशोज २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार