देवी ज्ञवाली भन्छन्ः प्रचण्डलाई भित्र्याउँदैछौँ, किन छाड्नु एमाले ?

ज्ञानेन्द्र खड्का / काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका प्रतिस्पर्धी देवीप्रसाद ज्ञवालीले पार्टी छाड्ने कुराले केही दिनयता सञ्चारमाध्यम तताएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालसँग झिनो मतले मेयरमा पराजित ज्ञवालीले एमाले छाड्ने समाचारले सञ्चार माध्यम र सामाजिक सञ्जालमा तरङ्ग ल्याइरहँदा उनी आफैँ भने बुधबार दिउँसो जनता टेलिभिजिनको कार्यालयमा आइपुगे ।

‘कसले भन्यो देवीप्रसाद ज्ञवालीले एमाले छाड्ने कुरा ? जसले सिंगो जीवन एमालेका लागि समर्पित गरेको छ, उसैले एमाले छाड्ने कुरा वकवाश मात्रै हो’, ज्ञवालीले एकै श्वासमा भने, ‘एमालेले माओवादीसहितका अरु कम्युनिष्ट पार्टीलाई मिलाउन लागेका बेला मैले एमाले छाड्ने कुरा हावादारी हो । प्रचण्डलाई भित्र्याउन एमाले जुटेका बेला मैले कसरी पार्टी छाड्न सक्छु ? अनलाइन पत्रकारहरु जिम्मेवार हुन नसक्दा मेरो बदनाम गर्ने कोशिश भएको छ ।’

१३ वर्षको उमेरदेखि एमाले कार्यकर्ता भएर राजनीतिमा होमिएको बताउँदै ज्ञवालीले बाँकी जीवन पनि एमालेमै बिताउने उल्लेख गर्नुभयो । ‘हाम्रो यात्रा समाजवादसम्मको हो, हामी त्यो दिशामा अग्रसर छौँ । अहिलेको पार्टी एकता प्रक्रिया पनि त्यसैको एउटा कडी हो’, ज्ञवालीले भने, ‘एमालेले अन्य कम्युनिष्ट शक्तिलाई पनि एकाकार गरेर अघि बढ्न लागेको छ । यो बेलामा मंसिरमा हुने चुनावका लागि एमालेको एउटा कमाण्डर र एउटा कार्यकर्ता भएर खटिनेछु, भ्रामक कुराको पछि कसैले लाग्नु जरुरी छैन ।’

भिडियो कुराकानी हेर्नुहोस्

नेता ज्ञवालीले माले पार्टी बन्नुअघि कोअर्डिनेशन कमिटि हुँदादेखि एमालेमा सक्रिय भएर ४० वर्ष बिताइसकेको व्यक्तिले एमाले छाड्न लाग्यो भन्नु अनर्गल प्रचार बाहेक अरु केही नभएको पनि प्रष्ट पारे ।

चितवन महानगरमा माओवादी केन्द्रका कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर रेणु दाहालले जालझेलमार्फत चुनाव जिते पनि लोकतान्त्रिक प्रक्रियाप्रतिको आफ्नो आस्था कहिल्यै नमर्ने ज्ञवालीको भनाइ थियो ।

‘त्यो एउटा लोकतान्त्रिक प्रक्रिया थियो । अहिले राजनीति नयाँ शिराबाट अघि बढिसकेको छ । भरतपुरकी मेयर रेणुसँग मेरो सहकार्य सुरु भइसकेको छ’, ज्ञवालीले भने, ‘उनलाई सफल बनाउने दायित्व मेरो पनि हो । रेणु र प्रचण्डजीलाई हामी एमालेमा स्वागत गर्न तम्तयार छौँ । एमालेको एउटा वफादार कार्यकर्ता बनेर म अझै सक्रिय रहनेछु । यसमा कुनै शंका नगरे हुन्छ ।’

‘कसले भन्यो देवीप्रसाद ज्ञवालीले एमाले छाड्ने कुरा ? जसले सिंगो जीवन एमालेका लागि समर्पित गरेको छ, उसैले एमाले छाड्ने कुरा वकवाश मात्रै हो’, ज्ञवालीले एकै श्वासमा भने, ‘एमालेले माओवादीसहितका अरु कम्युनिष्ट पार्टीलाई मिलाउन लागेका बेला मैले एमाले छाड्ने कुरा हावादारी हो । प्रचण्डलाई भित्र्याउन एमाले जुटेका बेला मैले कसरी पार्टी छाड्न सक्छु ? अनलाइन पत्रकारहरु जिम्मेवार हुन नसक्दा मेरो बदनाम गर्ने कोशिश भएको छ ।’
माओवादी कार्यकर्ताले मतपत्र च्यातेर रेणुले जिते पनि अहिले आएर उनले एमालेलाई नै सघाएर चुनावको बेला गरेको पाप पखालिरहेको ज्ञवालीको प्रतिक्रिया थियो । बुधबार भएको जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा रेणुले एमालेको प्यानललाई भोट हालेकी छन् । र, जिससमा एमालेको पुरै प्यानल नै आएको छ । नेता ज्ञवालीले हिजो झुक्किएर, नबुझेर कांग्रेस जस्तो प्रतिगामी शक्तिसँग नबुझी रेणु दाहाल र माओवादी लहसिएको बताउँदै आज आएर उनीहरुले गल्ती महसुस गरिसकेको बताउनुभयो । ‘आज आएर एमालेसँग मिल्दैहुनुहुन्छ । तर आज उहाँहरुलाई ती शक्ति सहयोगी र भरपर्दा रहेनछन् भन्ने थाहा भयो’, ज्ञवालीले भने, ‘अहिले एमाले नै इमान्दार शक्ति रहेछ भन्ने चेत खुलेको छ यो खुसीको कुरा हो ।’

चितवन जिल्ला समन्वय समितिमा माओवादीले समेत सघाएपछि एमालेको पुरै प्यानल नै विजयी भइसकेको छ । माओवादी र रेणुले सघाएकोमा ज्ञवालीले खुसी व्यक्त गरे । ‘कांग्रेसले सघाएर रेणु मेयर भएकी हन्, यद्यपि भरतपुरमा लोकतान्त्रिक प्रक्रियाको पुरै खिल्ली उडाइएको थियो’, ज्ञवालीले भने, ‘जिससको निर्वाचनमा रेणुले पनि एमालेको प्यानललाई मत हालेर विगतको गल्ती सच्याउने कामको थालनी भएको छ । पार्टी समेत एक हुने तयारी भएका बेला यो एउटा राम्रो कदम हो ।’

नेता ज्ञवालीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीबीच एकताको विकल्प नरहेको बताए । ‘समयको आवश्यकता, जनताको चहाना, नेपाल र नेपालको भविष्य सुदृढ बनाउन, राष्ट्रिय स्वाधीनताका लागि कम्युनिष्टहरुबीच एकता जरुरी छ’, ज्ञवालीले अगाडि थपे, ‘साम्राज्यवादी शक्ति, सामन्तवादी शक्तिहरु र एमालेलाई बलियो भएको देख्न नचाहाने शक्तिहरुको चुनौतीबीच एमालेकै पहलमा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ । अब मलाई प्रचण्डलाई जिताउन अध्यक्षले कमाण्डर बनाउनुभयो भने मेरो लागि गौरवको विषय हो ।’

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार