हिजो मुलुकप्रति समर्पित गरेको सिपाही थिए आज देश विकास गर्ने एमालेको सिपाही हु ” सिलवाल

लेनिनले एउटा उक्ति भन्नुभएको थियो, ‘यदि तपाईंले राजनीतिलाई हस्तक्षेप गर्न सक्नुभएन भने राजनीतिले तपार्इंको जीवनलाई हस्तक्षेप गर्छ ।’ समयको एउटा चक्रमा मेरो जिन्दगीमाथि पनि धेरै ठूलो राजनीति भयो । सामाजिक सञ्जालमा मेरा बारेमा धेरै प्रतिक्रिया आएका छन् । कसैले राजनीतिमा गएर ठीक ग¥यो भनेका छन् । कसैले राजनीतिमा जानुहुँदैन भनेका छन् । मैले आफूलाई कहिल्यै राजनीतिमा आउन कोसिस गरेको थिइनँ । म मुलुकको एउटा महŒवपूर्ण निकायमा महŒवपूर्ण योगदान दिएर यो जीवन मुलुकप्रति समर्पित गरेको सिपाही हो । हिजोसम्म म सिपाही थिएँ ।

तर, राजनीतिले यस्तो अवस्था बनाइदियो, परिस्थितिले यस्तो मोड लियो कि मैले राजनीतिलाई नअँगाल्ने हो भने मेरो अस्तित्वमाथि प्रश्नचिह्न खडा हुन्थ्यो । मैले मेरो अस्तित्व जोगाउन, हिजो मुलुकलाई दिएको योगदान, उत्साह कम हुन नदिन राजनीतिमा आएको हुँ ।
सभ्य समाज वा राष्ट्रमा राज्य भनेको एउटा अभिभावक हो । राज्यले आफ्ना नागरिकमाथि कानुनबमोजिम बराबरको व्यवहार गर्नुपर्छ, जुन ममाथि भएन । मलाई सोधिन्छ, ‘तपाईं राज्यका विरुद्ध किन अदालत जानुभयो ?’ ए बाबा ! ममाथि राज्यबाट अन्याय भएपछि म कहाँ जाऊँ ? संविधानले नै तिमीमाथि अन्याय भएको छ भने न्याय माग्न अदालत जाऊ भनेको छ ।

म न्याय माग्न जानु के अन्याय हो ? प्रजातन्त्रको सुन्दरता भनेको शक्तिको पृथकीकरण हो । मुलुकलाई, प्रजातन्त्रलाई अगाडि बढाउन ती विभिन्न अंगले योगदान गरिरहेका हुन्छन् । अन्याय सहेर बस्नु अपराध सहेर बस्नुजस्तै हो । मैले अन्याय सहे भने अरू हजारौंले सहन पुग्लान् । मजस्तो शिक्षित, देश, विदेश र संसार घुमेको, बुझेको, राजनीति, दर्शन, समाज बुझेको मान्छे आफू अन्यायमा पर्दा चुप लागेर बसें भने अन्यायमा परेका लाखौं नागरिकको के हालत होला भनेर म एमालेको ब्यानरमा उभिन पुगेको छु ।

मुलुकमा लाखौं नागरिक अन्यायमा परेका छन्, उचनीचमा परेका छन्, पीडामा परेका छन् । ती सबैको प्रतिनिधि पात्रका रूपमा म छु । म ती अन्याय र पीडामा परेका सबै नागरिकलाई एमालेको ब्यानर र आदर्शमुनि सँगै बसेर मुलुकलाई अगाडि बढाउन आह्वान गर्छु ।

राजनीतिमै जानु थियो भने किन एमालेमै गएको त भन्ने प्रश्न पनि छ । ऐतिहासिक नेताहरूले नेतृत्व गरेको पार्टी एमालेको जुन आर्दश, सोच र दृष्टिकोण छ, एमालेले मुलुकलाई जुन दिशा दिएको छ, यहाँ बसेपछि हामीजस्ता मुलुकका लागि केही गरांै, समृद्धिका लागि अगाडिको बाटो खोलौं भन्ने आकांक्षा राख्नेहरूलाई यो पार्टीले प्रशस्त सम्भावना दिएको छ ।

अरू धेरै पार्टी छन्, जसमा देखाउन प्रजातान्त्रिक मुहार र गैरप्रजातान्त्रिक व्यवहार छैन । यो पार्टीले समाजवादको वैज्ञानिक विश्लेषण गरेको छ । विकासको सोच परिवर्तन भइरहेको यस्तो समयमा यो पार्टीले मात्र विकासका नयाँ सोच र अवधारणा अगाडि बढाउन सक्छ भन्ने मेरो ठम्याइका कारण मैले एमाले रोजेको हुँ ।

मान्छेले जीवनमा आ–आफ्ना ठाउँबाट योगदान गर्दै जाने हो । यो क्रममा मान्छेले आफ्नो उत्तरार्धमा तीन कुरा सोच्छ रे । के मैले सही अर्थमा जीवन बाँचें त ? अर्को, के मैले जीवनलाई माया गरें त ? मैले मेरो राष्ट्र, मेरो माटोलाई माया गरें ? तेस्रो, मेरो बाच्नुको अर्थ रह्यो कि रहेन ? भनेर सोच्छ रे । यी तीनै प्रश्नको जवाफ खोज्ने सिलसिलामा एमाले मात्र यस्तो छहारी भेटें, जहाँ सम्भावनाहरू छन्, सुदूर भविष्य उज्ज्वल छ ।

यो संयोग पनि हो, नेपालको राजनीतिमा अहिले नै एउटा ऐतिहासिक घटना भयो । इतिहासमा यस्ता घटना बिरलै हुन्छन् । देख्दा सामान्य नेताले गरेको सामान्य निर्णयजस्तो लाग्छ तर त्यस निर्णयले नै नेतालाइ युगपुरुष बनाइदिन्छ । एमाले अध्यक्ष र माओवादी अध्यक्षको नेतृत्वमा नेपालको राजनीतिलाई नयाँ आयाम दिने जुन निर्णय भएको छ, त्यो नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महŒवपूर्ण घटना हो । हामीलाई मुलुकको माया छ ।

हामी पनि चाहन्छौं, राजनीतिक स्थायित्व होस् । राजनीतिक स्थायित्वबिना प्रगति सम्भव छैन । अब हामीले आर्थिक समृद्धि प्राप्त गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक स्थायित्वको आवश्यकता छ । यहाँबाट यो मोडबाट त्यो सुरु भएको छ । अर्को पार्टीका साथीहरू पनि मोर्चा बनाउन लाग्नुभएको छ । त्यो पनि स्वागतयोग्य कदम छ । जनताका साथमा जाऔं, आफ्ना कुरा राखौं, मार्गचित्र प्रस्तुत गरौं र जनताको मन जितेर पाँच वर्षका लागि आफ्ना योजना कार्यान्वयन गरौं । यसो गरे मात्र हामीले मुलुकलाई समृद्ध बनाउन सक्छौं ।

२१औं शताब्दीको आवश्यकता पनि यही हो । चीन र भारतजस्ता मुलुक जसरी अगाडि बढेर गएका छन्, हामी सुतेर, हामी राजनीतिक पार्टीहरू एकअर्कासँग झगडा गरेर बस्ने समय छैन । अब इतिहासले हामीलाई माफ गर्ने अवस्था छैन । अहिले लिएको निर्णयले नेताहरूलाई इतिहासले युगपुरुषका रूपमा प्रस्थापित गर्नेछ भन्ने मलाई लाग्छ । साथीहरूले म बाट धेरै अपेक्षा गर्नुभएको छ ।

आउने दिनमा मेरा कथाहरू सबैलाई सुनाउँदै जान्छु । म सबैलाई उत्प्रेरित पनि गर्दै जान्छु । यो मुलुक हाम्रो हो । हामी माया गर्छौं, प्रेम गर्छौं मुलुकलाई । यो मुलुकका लागि हामी एकताबद्ध भएर काम गर्छौं । हाम्रा युवा विभिन्न देशमा गएर जीवन धानिरहेका छन् । रेमिट्यान्स पठाइरहेका छन् । यसमा हामी गर्व गरिरहेका छौं । तर, के यसको मूल्य हामीहरूलाई थाहा छ ? दिनमा १५ सय बिदेसिन्छन् । वर्षमा १८ सय लास भित्रिन्छन् । घरहरू छिन्नभिन्न छन् । परिवारहरू छिन्नभिन्न छन् । सामाजिक अस्तव्यस्तता छ । परिवार विघटित छन् । त्यसको मूल्य राज्यले तिर्न सक्छ ? हामीले हाम्रा युवाहरूलाई यही रोजगारीका अवसर दिनुपर्छ । कृिषमा आधुनिकीकरण गर्नुपर्छ । जलस्रोतको अपार सम्भावनाको यही सदुपयोग गर्नुपर्छ । र, मुलुकलाई समृद्ध बनाउनुपर्छ । यसमा एमालेको योजना, दृष्टिकोणमा म एउटा कार्यकर्ताका रूपमा योगदान गर्नेछु । हिजोसम्म मैले राज्यको एउटा इमानदार सिपाहीका रूपमा मुलुकको सेवा गरेको थिए भने अब एमालेको इमानदार सिपाहीका रूपमा मुलुकको सेवा गर्नेछु ।

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार