क्यालिफोर्नियामा लागेको डढेलो नियन्त्रणबाहिर ,अहिलेसम्म १५ जनाको मृत्यु

काठमाडौ ,असोज २५ /

अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तीव्रगतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ ।

गत आइतबार रातिदेखि लागेको भीषण डढेलोमा परी १५ जनाको ज्यान गएको जनाइएको छ । साथै, यसबाट अरु पनि कैयौं हराइरहेका छन् ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेको र यसैका कारण झन् बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ ।

उक्त राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो । सो डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ ।

यसमा परी १५ जनाको ज्यान गएको छ भने अरु करिब २५ हजारजनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।

हजारौं स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफैं भाग्न सकेका थिए भने अरु कैयौंलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।

बुधबार प्राप्त समाचारअनुसार करिब पाँच हजारजनालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ ।

अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्रायः अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्रायः सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ ।

सो आगोलागीमा परी कम्तीमा पनि दुई हजार घर जलेका छन् । त्यसमा व्यापारिक भवन पनि रहेका छन् । अन्य भौतिक संरचनाहरु पनि जलेर खरानी भएको बताइएको छ ।

क्यालिफोर्नियाको सोनोमा काउन्टीमामात्र १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलोपटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।

आइतबार रातिबाट अकस्मात् उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्नेबारेमा कुनै तथ्य भेट्न सकेको छैन ।

आगोको गति निकै तीव्र थियो । तीव्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुक्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।

अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अग्निनियन्त्रक, स्थानीय नागरिक तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर, डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन ।

यसैबीच, प्राप्त एक पछिल्लो समाचारअनुसार उक्त आगोलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीय नागरिक भेटिएका छन् । सो जानकारी क्यालिफोर्नियाका अधिकारीहरुले दिएका छन् ।

उक्त आगोलागीमा परी अझैपनि १८० जना मानिस हराएका छन् । उनीहरुको खोजीकार्य पनि जारी रहेको उद्वारकर्मीहरुले जानकारी दिएका छन् ।

बुधबार, अशोज २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार