एमाले–माओवादी एकता प्रयासबारे डा.विष्णुहरि नेपालको टिप्पणी, गरे यस्तो भविष्यवाणी !

काठमाण्डौराजनीतिक विश्लेषक एवम् बरिष्ठ कुटनीतिज्ञ डा.विष्णुहरि नेपालले मुलुकमा अब दुई शक्तिशाली पार्टीहरु मात्र अस्तित्वमा आउने भविष्यवाणी गरेका छन् । बिजनेश टेलिभिजमा प्रसारित एक विशेष कार्यक्रममा बोल्दै बरिष्ठ कुटनीतिज्ञ डा.नेपालले सो कुराको भविष्यवाणी गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनमै झण्डै ५ दशक समय व्यतित गरिसकेका डा.नेपालले केही दिनअघि एमाले, माओवादी र नयाँ शक्तिबीच भएको वाम एकता गर्ने निर्णय नेपाली जनताका लागि खुसीको विषय भएको बताउँदै उक्त अभियानमा माओवादी आन्दोलनभित्रका वैद्य, विप्लव लगायतका पार्टीहरु पनि लामबद्ध हुनुपर्नेमा जोड दिए ।

आफुले यसअघि कुनैबेला यो मुलुकमा सबै बामहरु एक ठाउँमा उभिनुपर्छ भन्ने कुराको परिकल्पना त्यसबेलानै गरेको दाबी गर्दै उनले अहिले आएर त्यो कुरा पुष्टि भएको र आफुलाई खुसी लागेको समेत बताए । नेता नेपालले विश्वका अधिकांश मुलुकहरुमा समेत शक्तिशाली दुई पार्टीहरु रहेको उदाहरण दिँदै नेपालमा पनि कम्युनिष्ट पार्टी (समाजवादी धार) र प्रजातान्त्रिक शक्तिको नेतृत्वमा पार्टीहरुको अस्तित्व रहने बताए ।

वाम तालमेल र एकताको प्रयासमा शक्ति राष्ट्रहरुको हात रहेको भन्ने हल्लालाई खण्डन गर्दै डा.नेपालले यो नेपालको आवश्यकताका आधारमा भएको विश्लेषण गरे । यो एलायन्समा विशेषगरी चीनको हात रहेको भन्ने सुनिन्छ नि ? भन्ने प्रश्नमा डा.नेपालले यसलाई ठाडै अस्वीकार गरे । चीनले अहिलेसम्म नेपालको आन्तरिक मामलामा हात नहालेको स्पष्ट पार्दै यो असम्भव भएको तर्क गरे ।

चीनले नेपालमा जहिले पनि स्थाई शक्तिसँग मित्रताको हात बढाउने गरेको बताउँदै उनले राजतन्त्र ढलेपछि उसले भरपर्दो मित्र नपाएको समेत स्पष्ट पारे । सुरुमा प्रचण्ड नेतृत्वको माओवादीप्रति चीनले आशा गरेपनि प्रचण्डले चीनको विश्वास जित्न नसकेको तर्क गरे । अहिलेको वाम एकताको प्रयास राष्ट्रिय आवश्यकताले भएको र यो भारतीय चाहना विपरित रहेको समेत उनले बताए ।

उनले भारतलाई आफ्नो राष्ट्रिय सुरक्षामा केन्द्रीत रहन आग्रह गर्दै नेपालमा वाम शक्तिहरु एक हुँदा नडराउन पनि आग्रह गरे । यद्यपि,उनले वाम एकताको प्रयास हुने वित्तिकै भारतले चलखेल गर्न सुरु गर्ने समेत बताए । डा.नेपालले भारतको विदेशनीति मनोगत रुपमै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै त्यसको प्रभाव नेपालमा पर्दै आएको बताए । भारतले नेपालमा स्थिर सरकार निर्माण भएको देख्न नचाहने उनको तर्क थियो ।

आर्थिक रुपान्तरणको ढाँचा
अब मुलुक आर्थिक क्रान्तिको बाटोतर्फ लागेको बताउँदै त्यसका लागि सुरुवात भूमिसुधारबाटै गर्नुपर्ने डा.नेपालको र्तक थियो । बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिसक्दा समेत पञ्चायतकालमा राजा महेन्द्रले जति पनि काम गर्न नसकेको स्पष्ट पार्दै डा.नेपालले आर्थिक रुपान्तरणका लागि सुरु देखिनै काम गर्नुपर्नेमा जोड दिए ।

उत्पादनका पक्षहरुलाई समाजवादी ढाँचामा ढाल्नुपर्ने तर्क गर्दै त्यसले मात्र औधोगिक विकास सम्भव भएको डा.नेपालको तर्क थियो । चीनमा माओवादकै आधारमा आर्थिक रुपान्तरण भएको बताउँदै उनले माओले आफ्नो देशका युवाहरुलाई बाहिर जानबाट रोक्नुभएकोले चीनले आर्थिक रुपान्तरणमा विशाल फड्को हान्न सकेको उदाहरण दिए । देङ सियायो पिङले माओवादको आधार जन्मिएको आर्थिक क्रान्तिको ढाँचाको विज्ञापन(मार्केटिङ) मात्र गरेको बताउँदै डा.नेपालले त्यसबाट हामीले सिक्नुपर्ने बताए ।

यस्तो हुनुपर्छ अबको राष्ट्रपतीय प्रणाली
अर्को एक राजनीतिक प्रसंगमा डा.नेपालले मुलुकमा कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता रहेको बताउँदै त्यसका लागि युवाहरुलाई शक्ति हस्तान्तरण गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यकारी राष्ट्रपति हुनका लागि २५ देखि ७० वर्षको उमेर उपयुक्त हुने तर्क गर्दै उनले संविधान संशोधन गरेरै भएपनि यो व्यवस्था गर्नुपर्ने उनले बताए । यद्यपि, आलंकारिक राष्ट्रपतीय प्रणालीमा गए ७० वर्षभन्दा माथिको उमेर हुनुपर्ने उनको भनाई थियो । आलंकारिक राष्ट्रपति सबैले सम्मान मात्रै गरे हुने खालको पद भएकोले त्यसरी मिलाउन सकिने डा.नेपालको तर्क थियो ।

डा.नेपाल पचासको दशकमा निर्माण भएको एमालेको नौ महिने सरकारताका जापानका लागि नेपाली राजदूत नियुक्त भएका थिए । त्यसयता उनले नेपालको राजनीतिक र कुटनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार