भारतीय मन्त्रीले गर्छन नेपाली सिमको प्रयोग, भारतमा छ्यापछ्याप्ती नमस्ते र स्काई

नेपालको सुदुरपश्चिम क्षेत्रसँग जोडिएका भारतीय शहरमा समेत नेपाल टेलिकमका स्काई र नमस्ते मोबाईलको प्रयोग हुने गरेको छ ।

भारतीय नम्बरहरुको नेटवर्कमा समस्या हुने गरेपछि खबर आदानप्रदान गर्न सीमा क्षेत्रका भारतीय नागरिकले नेपाली नेटवर्कका मोबाइल फोन मार्फत् कुराकानी गर्ने गरेका छन् । दक्षिण–पश्चिमी सीमा बजार गौरीफण्टा, खटिमादेखि उत्तर–पश्चिमी सीमाबजार धार्चुलासम्म नेपाली नेटवर्कले सीमा वारपार खबर आदान प्रदानको काम गरिरहेको छ ।

भारतीय मोवाइल नेटवर्कको पहुँच नभएका क्षेत्रका सीमावर्ती भारतीय नागरिकले नेपाली नेटवर्ककै सहारा लिने गरेका हुन् । सीमावर्ती बजार गौरीफण्टा, खटिमा, वनवसा, टनकपुर, पिथौडागढ, जौलजीबी, कालिका, धार्चुलालगायत क्षेत्रका भारतीय नागरिकले नेपाली नेटवर्क प्रयोग गर्ने गरेका छन् ।

नेपाल टेलिकमको नमस्ते, स्काई तथा एनसेल कम्पनीका सिमकार्ड भारतीय बजारमा पनि चल्ने गरेका छन् । उक्त क्षेत्रमा नेपाली नेटवर्कले सहजै काम गर्ने भएपछि यसको प्रयोगमा पनि वृद्धि भएको छ । दार्चुलासँगै जोडिएको भारतीय बजार धार्चुलामा भारतीय नेटवर्कले काम नगर्ने भएका कारण अधिकांश भारतीयले नेपाली नेटवर्कको सहारा लिइरहेको भारतबाट प्रकाशित–प्रसारित स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् । भारतीय नेटवर्कले प्रभावकारी काम नगरेका कारण सबैले नेपाली नेटवर्क प्रयोग गर्ने गरेको खवर ती सञ्चार माध्यमहरुले सार्वजनिक गरेका हुन् ।

नेपाली नेटवर्क नेपाल–भारत–चीन सीमा क्षेत्र छाङ्गरु र तिङ्करसम्म काम गर्छ,’ भारतका स्थानीय पत्रकार राकेश गब्र्यालले भने, ‘नेपाली मोबाइल कम्पनीको नेटवर्कको तुलनामा भारतीय नेटवर्क कमजोर छ ।’

कानूनी रुपमा भारतीय नागरिकले नेपाली सिमकार्ड प्रयोग गर्न नपाउने नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले बताएको छ । कार्यालयका अनुसार नेपालमा व्यापारिक प्रयोजनले आउने भारतीयले भने प्रयोग गर्न पाउँछन् । दुबैतिर बसोबास, सम्पर्क र सम्बन्ध भएका भारतीय नागरिकले नेपाली साथी वा आफन्तको नाममा सिम निकालेर प्रयोग गरेका हुन सक्छन् ।’

नेपाली सिमकार्डको बढ्दो प्रयोगले सम्वन्ध बढेको छ । सीमा बजार भारतको गौरीफन्टा र टनकपुर वनवासामा व्यवसाय गर्दै आएका भारतीय व्यापारीहरुले कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी तथा अत्तरियालगायत क्षेत्रमा रहेका नेपाली व्यवसायीहरुसँग कारोवार गर्न सहज तथा टेलिफोन शुल्क कम लाग्ने अवस्थाका कारण पनि सीमा बजारका अधिकांश भारतीय व्यापारीहरुले भारतीय सिमकार्डसँगै नेपाली सिम कार्डको पनि प्रयोग गर्दै आएको स्थानीय व्यवसायीहरुले बताएका छन् । सीमा क्षेत्रका भारतीय व्यवसायीहरुसँग आवश्यक पर्ने सामान माग गर्न नेपाली नेटवर्क नै सस्तो हुने र वस्तुको मोलमोलाई गर्न पनि सहज भएकाले भारतीय व्यापारीहरुले नेपाली सिम प्रयोग गर्ने गरेको धनगढीका व्यवसायी रमन जोशीले बताए ।

त्यसो त भारतको उत्तराखण्ड प्रदेशका मन्त्री र मुख्यमन्त्रीले समेत नेपाल टेलिकमको नमस्ते र स्काई सिम प्रयोग गर्ने गरेका छन ।

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार