कविता – र पाे दशैँ अाएकाे मज्जा हुन्थ्याे

कविता
– विसुकुमार के.सी.

चङ्गासंगै मन उडथ्यो,
बादलको घोडा चडेर दाैडिन्थ्यो,
र पो, दशैँ आएको मज्जा हुन्थ्यो ।

मच्चेर पिङमा
पुगिन्थ्यो नजिकै जुनको
र पो, दशैँ आएको मज्जा हुन्थ्यो ।

भुटेर धान,
ताल मिलाएर उडकलमा,
कुटेको चिउराको
बासना नै मिठो हुन्थ्यो ।
खल्पी हालेर गालेको काक्रोको अचार नखाँदै पनि
मुखै रसाउथ्यो ।
र पो, दशैँ आएको मज्जा हुन्थ्यो ।

रातो माटोको पट्टी लाएर,
कमेरोले पोतेको घरमा,
जब घाम लाग्दथ्यो
आँखा नै तिरमिराउथ्यो ।

माया नै मार्यो कि ?
घरबार नै बिर्स्यो ?
मर्यो कि जिउदै छ,
खबरै नभाको,
परदेशी ।
कोशेली बोकेर
टुप्लक्कै आइपुग्थ्यो ।
र पो, दशैँ आएको मज्जा हुन्थ्यो ।

पुजा कोठाबाट गोकुल धुपको वासना आउथ्यो ।
हुजुरबा कै पालाको पुरानो रेडियोमा माल श्री धुन बज्थ्यो ।
सपना देख्दा देख्दै बिहानको चिसो बतासले निद्रा भगाउँथ्यो ।
जमरा जसरी नै मनमा उमङ्ग उम्रन्थ्यो।
र पो, दशै आएको मज्जा हुन्थ्यो ।

साँच्चै भन्दा बाले किनिदेको नयाँ लुगाको,
रंगभन्दा नि बासना पो मिठो लाग्थ्यो ।
दिदीको सानो ऐनामा
नयाँ लुगा लाएको पुरै ज्यान देखिदैन्थ्यो ।
राम्रो छ भनाउन,
त्यै लुगा लगाएर छर छिमेक डुलिन्थ्यो।
र पो, दशैँ आएको मज्जा हुन्थ्यो ।

अहिले त दशै पनि भर्च्युल भयो ।
छुन सकिँदैन,
छामेर स्पर्श गर्न सकिदैन।
फोटो सजाइन्छ फेस बुकमा
टीका र जमराले
निधार रित्तै हुन्छ ।
कागजको फुल जस्तो भो दशै
बासना पटक्कै आउदैन ।
मेसेन्जरमा आउने सन्देश र शुभकामना,
आशीर्वाद जस्तो लाग्दैन ।

उहिले पो दशै
अंगालै हाल्न आउँथ्यो,
दौडाउँथ्यो, उफार्थ्यो र नचाउँथ्यो,
र पो, दशै आएको मज्जा हुन्थ्यो ।

शनिबार, अशोज ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार